सभामुखमाथिको गम्भीर आरोपको छानबिन नागरिकसरह हुनुपर्छ : थापा

दीपेन्द्र बडुवाल

(बुटवल) — नेपाली कांग्रेसका नेता गगन थापाले संघीय सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने बताएका छन् ।

मंगलबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुलुककै सम्मानित व्यक्तिमाथि लागेको आरोपले संसद्‌का सबै सदस्य स्तब्ध भएको र यस्तो गम्भीर आरोपको छानबिन आमनागरिक सरह नै हुनुपर्नेमा जोड दिए । ‘यो आरोप आम मान्छेमाथि लागेको भए के हुन्थ्यो ?,’ रिर्पोटर्स क्लब प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रश्न गर्दै उनले भने, ‘सभामुखमाथि पनि प्रचलित कानुनी व्यवस्था अनुसार छानबिन हुनुपर्छ ।’

अहिलेसम्मका विभिन्न घटनामा साख गुमाएको प्रहरी प्रशासन यस विषयमा कुनै दबाबमा पर्न नहुने उनको भनाइ थियो । ‘प्रहरीले आफ्नो गुमेको प्रतिष्ठा पुनर्स्थापना गरोस्,’ उनले भने, ‘व्यक्तिको पदको प्रभाव नदेखियोस् ।’ नैतिक प्रश्न उठेको र मुलुकको प्रतिष्ठासित गाँसिएकाले यो आरोप झुटो सावित होस् भनेर उनले कामना गरे ।
गम्भीर आरोप लागिसकेको अवस्थामा एउटा विज्ञप्तिबाट आरोपमा ‘रफादफा’ गर्न नहुने भन्दै उनले शंका निवारणका लागि सभामुखबाट सहयोग हुने विश्वास व्यक्त गरे । ‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’

उनले वर्तमान प्रहरी प्रशासन सरकारको निर्देशनमा चल्ने गरेको आरोप लगाए ।

प्रकाशित : आश्विन १४, २०७६ ०९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मित्रताको यो पनि संयोग : एउटी बोल्न नसक्ने, अर्की देख्न

रमेशचन्द्र अधिकारी

(धनकुटा) — एउटा नबोल्ने, अर्को नदेख्ने । बास दुवैको एउटै कोठामा । आपसी संवाद सहज छैन । तर एकअर्काका अभिन्न साथी छन् ।

तमोर नदीनजिक मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा आश्रय लिएका ५५ वर्षीया देवी लामिछाने र उनीसँगै बस्ने ६५ वर्षीया कालीमाया राईको कथा हो यो । लामिछाने दृष्टिविहीन हुन् । राई बोल्न सक्दिनन् । देवीले बोलेको कालीमायाले सुन्न र बुझ्न सक्दिनन् । कालीमायाले गरेको इसारा देवीले देख्न सक्दिनन् । खाना खाने समयमा बज्ने घण्टीको आधारमा देवीले छामेर थाल देखाउँछिन्, कालीमायाले खाना खाने संकेत बुझ्छिन् र नजिकै रहेको सामूहिक भान्सा घरमा जान्छिन् । वृद्धाश्रमले बासस्थान र खानपिनको प्रबन्ध गरेको छ । खानाको समयमा घण्टी बज्छ । कालीमायाले देवीसँग आफ्नो भावना व्यक्त गर्दा छोएर नबुझिने आवाज निकाल्छिन् । जसलाई अनुमानका आधारमा सांकेतिकजवाफ फर्काउँछिन् ।

बाल्यावस्थामै दृष्टिविहीन बनेकी देवी २०७१ सालमा धरानबाट आफन्तको माध्यमले वृद्धाश्रममा पुगिन् । बहिनीको घरमा रहेकी उनी रोशन नाम गरेका व्यक्तिको सहयोगमा त्यहाँ पुगेको बताउँछिन् । तुलसा निरौला नामकी वृद्धासँग कोठामा बस्दै आएकी उनी त्यही कोठामा देवी थपिएकी थिइन् । कालीमायालाई भने अघिल्लो वर्ष पाख्रिबासबाट आफन्तले वृद्धाश्रम राखिदिएका थिए ।

उनी धेरैजसो सांकेतिक रूपमा कुरा गर्छिन् । संकेत गर्ने क्रममा मुखबाट नबुझिने आवाज निस्कन्छ । जसलाई अरूले बुझ्न सक्दैनन्, तर देवीले अनुमान गरेर बुझ्ने बताइन् । कहिलेकाहीं धित मरुन्जेल विगतका कुरा गर्न मन लाग्दा भने असाध्यै समस्या हुने उनी बताउँछिन् । ‘एकै ठाउँमा बसेपछि साथी त भइयो,’ उनले भनिन्, ‘तर के गर्ने दुवैलाई प्रकृतिले ठगेको छ ।’ सांकेतिक रूपमा कालीमायाले आफ्नो घर टाढा रहेको इसारा गरिन् । उनी आवाज निकाल्ने कोसिस त गर्छिन्, तर बोली बुझिँदैन ।

दुवैजना मिलेर बसेको व्यवस्थापक कमला दाहाल बताउँछिन् । ‘कालीमाया आउँदा देवी बस्ने कोठामा एउटा खाट खाली थियो, त्यसैले दुवैलाई एकै ठाउँ राखिएको हो,’ उनले भनिन् । वृद्धाश्रममा हाल ४२ जना वृद्धवृद्धा छन् । अधिकांशमा कुनै न कुनै स्वास्थ्य समस्या छ । दर्जन बढीमा मानसिक समस्या रहेको वृद्धाश्रमका महासचिव जनार्दन घिमिरेले बताए । कतिपयलाई पक्षाघात, श्वासप्रश्वास र नसासम्बन्धी स्वास्थ्य समस्या छ । वृद्धाश्रमको शरणमा रहेकाहरू एउटा कोठामा एकदेखि तीनजना बस्दै आएका छन् । महिला र पुरुषलाई भिन्दाभिन्दै कोठा छ । ‘कसलाई कहाँ राख्ने भन्ने ठाउँ खाली भएका आधारमा निर्णय लिन्छौं,’ घिमिरे भन्छन् । यसै आधारमा कालीमाया र देवीको पनि बसाइ संयोग मिलेको उनले बताए ।

दुवैको नागरिकता छैन । भएको भए देवीले यतिबेला सामाजिक सुरक्षा भत्ता पाउने थिइन् । ‘नागरिकताका लागि धेरैलाई गुहार मागें,’ देवीले भनिन्, ‘कसैले चासो दिएनन् ।’ त्यसो त वृद्धाश्रममा बस्दै आएका उनीहरूसहित ७ जना वृद्धवृद्धाको नागरिकता छैन । ‘आश्रय लिए पनि नागरिकता भए पकेट खर्च सामाजिक सुरक्षा भत्ताबाट हुन्थ्यो,’ व्यवस्थापक कमला दाहाल भन्छिन् । नागरिकता नहुनेमा भोजपुरका ७५ वर्षीय वीरबहादुर भुजेल पनि छन् । भोजपुरको टक्सारका अविवाहित भुजेलका भाइभतिजलगायत आफन्त छन् । कसैले पनि नागरिकता बनाइदिन सहयोग नगरेको उनको गुनासो छ । आफन्तको उपेक्षापछि वृद्धाश्रमको शरणमा आइपुगेकी धरानकी ५६ वर्षीया सन्तोष अग्रवालको पनि नागरिकता छैन । ७५ वर्षीया निर्मलाकान्छी खड्का र ७० वर्षीय तोक्चे भुजेल पनि नागरिकताविहीन छन् । तेह्रथुमको मुसाङखेल घर भएकी सुस्तश्रवण अवस्थाकी लाटी कान्छीलगायतको पनि नागरिकता बन्न नसक्दा राज्यबाट पाउने सुविधाबाट वञ्चित रहेको गुनासो छ ।

प्रकाशित : आश्विन १४, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×