‘हिन्दु राष्ट्र बनाउने अधिकार नेपालीकै’

आश्विन ८, २०७६

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय जनता पार्टीको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन राव भागवतले हिन्दु राष्ट्रको निर्णय गर्ने अधिकार नेपाली नागरिकमा रहेको उल्लेख गर्दै त्यसमा भारतको सरोकार नरहेको बताएका छन् । 

आरएसएसले भित्री रूपमा नेपाललाई हिन्दु राष्ट्र बनाउन दबाब दिएको अड्कलबाजी भइरहेका बेला मंगलबार नयाँदिल्लीमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरूसँग उनले नेपाल स्वाधीन र स्वतन्त्र मुलुक भएकाले आफ्नो निर्णय आफैं गर्न सक्ने बताए । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने/नबनाउने भन्ने मामिलामा नेपाली जनताले मात्रै निर्णय गर्न सक्ने बताए । ‘नेपाललाई हिन्दु राष्ट्र बनाउने/नबनाउने कुरा त्यहाँका जनतामा निर्भर गर्छ । आरएसएसको त्यो विषयसँग कुनै सम्बन्ध छैन ।’ 


पछिल्लो समय नेपाली कांग्रेसभित्र समेत नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा तीव्र रूपमा लबिइङ चलिरहेको छ । यसका पछाडि आरएसएस र त्यसनिकट हिन्दु संगठनहरूको प्रभाव रहेको कतिपय राजनीतिक विश्लेषकहरूले दाबी गर्दै आएका छन् । भाजपाले दोस्रो कार्यकालका लागि सत्तामा आएपछि यससम्बन्धमा चर्चा बाक्लिएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दुवादी संगठनहरूको प्रमुख एजेन्डा नेपाललाई हिन्दु राष्ट्र बनाउने छ । हालैका दिनमा भाजपाभित्र प्रभावशाली भूमिकामा रहेका वरिष्ठ नेता सुब्रमण्यम स्वामी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा अभिव्यक्ति आउनाले पनि भाजपा र आरएसएस नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा रहेको अनुमान गर्न थालिएको छ । आरएसएस प्रमुख भागवतले भने त्यसलाई ठाडै अस्वीकार गरेका छन् । 


उनले नेपालका हिन्दु संगठनहरूले हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका हुन सक्ने तर त्यसमा आरएसएसको कुनै भूमिका नभएको दाबी गरे । ‘आरएसएसले नेपालको आन्तरिक मामिलामा कुनै सरोकार राख्दैन । हाम्रो संगठनको गतिविधि भारतभित्रै सीमित छ,’ उनले भने । नेपाल धर्मनिरपेक्ष मुलुक हुनुलाई पनि भागवतले स्वाभाविक घटनाका रूपमा अर्थ्याएका छन् । उनले हिन्दु राष्ट्र राजनीतिक नभएर सांस्कृतिक अवधारणा मात्रै भएको बताए । 

कान्तिपुर

Link copied successfully