कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ राष्ट्रपति भ्रमणको सुरक्षा तयारी 

चिनियाँ अतिथिका निम्ति असोज २६ र २७ गतेलाई होटल सोल्टी र द्वारिकाजका प्रेसिडेन्सियल सुइट ‘बुकिङ’

काठमाडौँ — सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको सुरक्षा तयारी सुरु गरेको छ । असोज अन्तिम साता हुने भनिएको राष्ट्रपति सीको राजकीय भ्रमण सफल पार्न गृह मन्त्रालय आन्तरिक सुरक्षा तयारीमा सक्रिय भएको हो ।

चिनियाँ राष्ट्रपति भ्रमणको सुरक्षा तयारी 

आइतबार नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले राष्ट्रपति सीको भ्रमणसँगै केन्द्रित रहेर गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेकी छन् । गृहमन्त्री र राजदूतबीच भएको भेटबारे मन्त्रालय वा चिनियाँ दूतावासले औपचारिक जानकारी दिएका छैनन् तर उक्त भेटवार्तालगत्तै आइतबारै गृह मन्त्रालयमा मन्त्री थापा र गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा प्रमुखहरूको बैठक बसेको थियो ।


नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहितको बैठकमा राष्ट्रपति सीको राजकीय भ्रमण र त्यसअघिको दसैं सुरक्षा योजना प्रभावकारी बनाउने विषयमा छलफल भएको स्रोतको भनाइ छ । राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने भनिए पनि मिति घोषणा गरिसकिएको छैन ।


चिनियाँ अतिथिका निम्ति भनेर असोज २६ र २७ गतेका लागि राजधानीका दुई होटल सोल्टी र द्वारिकाजका प्रेसिडेन्सियल सुइट ‘बुकिङ’ गरिसकिएको सम्बन्धित स्र्रोतले उल्लेख गरेको छ । त्यसैताका सीको काठमाडौं आगमन हुने अनुमान छ । यद्यपि उनले यहाँ रातै बिताउँछन् वा चर्चामा आएझैं नौ घण्टाजति मात्र रहन्छन् भन्नेबारे चाहिँ प्रस्ट भइसकेको छैन ।


स्रोतका अनुसार राजदूत हउले गृहमन्त्री थापासँगको भेटमा राष्ट्रपति सीको भ्रमणमा केन्द्रित

रहेर सरकारले थालेको तयारीबारे जिज्ञासा राखेकी थिइन् । ‘राजदूतसँगको भेटमा गृहमन्त्रीज्यूले राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो,’ उच्च स्रोतले भन्यो, ‘नेपाल सरकारले भ्रमण सफल बनाउन थालेको तयारीप्रति महामहिम राजदूतज्यूले धन्यवाद दिनुभयो ।’


राजदूतसँगको भेटवार्तापछि बसेको सुरक्षा बैठकमा दसैंलगत्तै विदेशी राष्ट्रप्रमुख नेपाल आउन लागेको र त्यसका लागि चाडपर्व सुरक्षा योजना नै प्रभावकारी हुनुपर्नेमा छलफल भएको थियो । भ्रमणका क्रममा ‘एक चीन नीति’ विपरीत तथा संविधानविरोधी समूहका गतिविधि निस्तेज पार्ने विषयमा पनि छलफल भएको थियो । सीको भ्रमणअघि कुनै अप्रिय घटना हुन नदिन पनि सुरक्षा निकाय सचेत हुनुपर्ने कुरा उठेको स्रोतले जनाएको छ । खासगरी चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गरेर स्वतन्त्र तिब्बत पक्षधरको कुनै प्रदर्शन नहोस् भन्नेमा सरकारको ध्यानकेन्द्रित छ ।


‘दसैंलगत्तै राष्ट्रपति सीको भ्रमण हुने भएकाले त्यहीअनुसार चाडपर्व सुरक्षा योजना प्रभावकारी हुनुपर्ने कुरा उठ्यो,’ बैठकमा भएको छलफल उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नातर्फबाट भइरहेका सुरक्षा व्यवस्थापन तयारीबारे गृहमन्त्रीलाई ब्रिफिङ गराउनुभयो ।’


गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षा बैठक चाडपर्व सुरक्षा व्यवस्थापनमा केन्द्रित भएको बताए । ‘दसैं/तिहार, छठलगायतका चाडपर्व नजिकिँदै छन्, यसलाई सुरक्षित र लामो तथा छोटो दूरीमा ओहोरदोहोर गर्ने यात्रु तथा मालसामान सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भयो,’ प्रवक्ता सुवेदीले भने, ‘सोहीअनुसार आ–आफ्नातर्फबाट प्रभावकारी रणनीति तय गर्ने प्रतिबद्धता सुरक्षा निकायका तर्फबाट आएको छ ।’


सरकारले सी भ्रमणको मिति घोषणा नगरिँदासम्म यसबारे औपचारिक जानकारी नदिने नीति लिएको छ ।


नागरिक सहायता कक्ष स्थापना

भारत र चीनसँग सीमा जोडिएका नाकालाई लक्षित गरेर सशस्त्र प्रहरी मुख्यालयले ८८ स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ । खासगरी मानिस आवतजावत हुने दक्षिणतर्फका सीमा नाकाको सुरक्षामा विशेष ध्यान दिन सशस्त्र प्रहरीले ७ वटै प्रदेशस्थित सीमा कार्यालयलाई निर्देशन दिएको छ ।


रोजगारीका क्रममा भारतमा रहेका नेपाली दसैं/तिहारलगायत चाडपर्व मनाउन फर्किंदा सीमा नाकामा लुटिने गरेका विषय बर्सेनि दोहोरिने गरेका छन् । यस विषयमा चनाखो भएर सुरक्षा व्यवस्था मिलाउन सीमा सुरक्षा कार्यालय र ‘बोर्डर आउट पोस्ट’ (बीओपी) लाई विशेष निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ६, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?