१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अब बहुविधिबाट जनगणना

गणेश राई

काठमाडौँ — विशेषज्ञहरुले त्रुटि औंल्याएपछि राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनीय बनाउने तयारी छ । जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन् । सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति र भाषालाई समेत यकिन गरिनेछ ।

अब बहुविधिबाट जनगणना

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या ५ हजार ३ सय ९४ छ । दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ । वास्तविकतामा भने यो भाषा बोल्नेहरू छैनन् । ‘दुरा भाषा बोल्न जान्ने कोही पनि छैनन्,’ भाषाशास्त्री प्राध्यापक दानराज रेग्मी भन्छन्, ‘लमजुङका एक शिक्षक मुक्तिनाथ घिमिरेलाई मात्र दुरा भाषा आउने भएकाले उनैले सम्बन्धित जातिलाई सिकाइरहेका छन् ।’

घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ । जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ तर विज्ञ भने यसलाई घले होइन, गुरुङ भाषा भन्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ भन्छन्, ‘घले र गुरुङ भाषा एउटै हो । एक जना जापानी भाषाशास्त्री आएर थोरै फरक पाइयो भनेर छुट्टै भाषा भनिदिएपछि समुदाय विभाजित बन्यो ।’

सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये राई जाति एक हो । किराँत राई समूहमा २८ वटा भाषा छन् । तिनलाई ‘राई भाषा’ भनिँदैन । बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, वाम्बुलेलगायत उल्लेख गरिन्छ तर जनगणनामा राई भाषा बोल्नेको संख्या १ लाख ५९ हजार १ सय १४ जना देखाइएको छ ।

गणकले भने यसलाई नबुझी जनगणनामा राई भाषा भनी लेखिदिए । ‘राई भाषा कसले बोल्छ, हामीले समुदाय भेटेका छैनौं,’ भाषाशास्त्री रेग्मी भन्छन् । त्यसैगरी राई जातिभित्रको बान्तवा भाषा बोल्नेको संख्या जनगणनामा १ लाख ३२ हजार ५ सय ८३ रहेको उल्लेख छ । राई जातिअन्तर्गत पर्ने बान्तवालाई पनि जनगणनामा जातिका रूपमा चिनाइएको छ र ४ हजार ६ सय ४ जना यसका मानिस यो जातिका रहेको उल्लेख गरिएको छ ।

खस, जुम्ली, डोट्यालीलगायतलाई नेपाली भाषाका भाषिका मानिएको छ तर जनगणनाले तिनलाई अलग भाषाको पहिचान दिएको छ । ‘यी भाषा पहिले नेपाली भाषाका भाषिका थिए, अहिले भाषा भएका छन्,’ भाषाशास्त्री रेग्मी भन्छन्, ‘भाषाभित्र ऐतिहासिक भाषिका, व्यक्ति भाषिका र प्रयोजनपरक भाषिका हुन्छन् । जनगणनामा लेखाउँदैमा सबै भाषा हुन सक्दैनन् ।’

यी जनगणनामा भएका त्रुटिका केही उदाहरण मात्र हुन् । यस्ता त्रुटि अबको गणनामा दोहोर्‍याउन नहुने केन्द्रीय तथ्यांक विभागले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ तयारी सन्दर्भमा भाषा तथा जातजातिसम्बन्धी अन्तरक्रिया’ मा सहभागी विज्ञहरूले सुझाएका छन् । तथ्यांकअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषा छन् । ती भाषामध्ये करिब दुई दर्जन विदेशी भाषासमेत रहेका छन् । भाषाशास्त्रीको मतानुसार भारोपेली, चीन–तिब्बती, आग्नेली र द्रबिड भाषा परिवारका भाषा छन् ।

'अब मिथ्यांक हुनेछैन’

विशेषज्ञहरूले त्रुटि औंल्याएपछि दुई वर्षपछि हुने राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनीय बनाइने अधिकारीले बताएका छन् । उनीहरूका अनुसार जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन् । सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति, भाषालाई यकिनसमेत गरिने जनाइएको छ ।

१९६८ सालदेखि प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिँदै आएको छ । २०७८ जेठ २५ देखि असार ८ भित्र १२ औं राष्ट्रिय जनगणना हुनेछ । मुलुक संघीय संरचनामा बदलिएपछिको यो पहिलो जनगणना हो । त्यस निम्ति संघ, प्रदेश र स्थानीय सरकारको प्रत्यक्ष सहभागिता रहने बताइएको छ । राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्दै आएको छ ।

‘राष्ट्रिय जनगणनाको तथ्यांकलाई यथार्थपरक बनाइनेछ,’ योजना आयोगका सदस्य रामकुमार फुयाँलले भने, ‘यसको बलियो समीक्षा हुन्छ । मुलुक निर्माणमा सहयोग पुग्ने आधिकारिक तथ्यांक बनाइनेछ । यो तथ्यांकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य प्राप्तिलाई सम्बोधन गर्नेछ ।’ आयोगले तथ्यांक ऐन, २०१५ लाई परिवर्तन गरी नयाँ ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको फुयाँलले जनाए ।

राष्ट्रिय जनगणनाको पूर्वतयारीलाई जनसरोकारको विषय बनाइने आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद ओलीले बताए । ‘विगतका जनगणनामा भएका त्रुटि, कमजोरी, समस्या, उठेका मुद्दालाई सम्बोधन गरेर हामी अघि बढ्छौं,’ उनले भने, ‘जात, जाति र भाषाका विषयहरूलाई प्रदेशगत उन्नतिको विषय बनाइनेछ ।’

सबै पक्षको सुझाव लिएर जनगणनाको काम अघि बढाइने तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । ‘जनगणनाका लागि एउटा मात्र मुख्य प्रश्नावली फारम प्रयोग गरिनेछ,’ उनले भने, ‘बहुमोडल दृष्टिकोण अपनाइनेछ । त्यसमा सहज पहुँच, उच्च नेटवर्क र व्यवस्थापन जस्ता पक्षका आधारमा ट्याब्लेट र कागजी प्रश्नावली प्रयोग गरिनेछ ।’

उनका अनुसार प्रत्येक घरिपरिवारलाई हुलाक टिकट तथा खाममार्फत जनगणना सन्देश तथा अनुरोधपत्र पुर्‍याइनेछ । विदेशमा रहेका नेपालीका निम्ति कूटनीतिक नियोगमा विद्युतीय गणना (ई–सेन्सस) विधिबाट जनगणना गरिनेछ । ‘मोडिफाइड डि जुरे अर्थात् गणनाको समयमा कुनै व्यक्तिले अक्सर बसोबास गरेकै ठाउँबाट गणना गरिनेछ,’ महानिर्देशक श्रेष्ठले भने, ‘कोही नछुटून् र कोही नदोहोरिऊन् । जो जहाँ बसोबास गर्छ, त्यहींबाट गणना हुनेछ ।’

अन्तर्क्रियामा भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले जनगणनाअघि मातृभाषाको परिभाषा स्पष्ट पार्नुपर्ने बताए । ‘व्यक्तिले सबभन्दा धेरै जानेको भाषा नै मातृभाषा हो,’ उनले भने, ‘अबको जनगणनामा पुर्ख्यौली भाषालाई विरासतको भाषा र अहिले बोल्दै गरेकोलाई मातृभाषाका रूपमा उल्लेख गर्न आवश्यक छ ।’

जनसंख्याविद् बालकृष्ण माबुहाङले जनगणनालाई समाजको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । ‘विगतका तीनवटा जोखिमपूर्ण जनगणना गरेर निकालिएको तथ्यांकले समस्या आयो । अब त्यस्तो तथ्यांकले समाधान दिँदैन,’ उनले भने, ‘स्नातक वा स्नातकोत्तर तहमा जनसंख्या वा तथ्यांकशास्त्र अध्ययन गरिरहेका युवा जनशक्तिलाई परिचालन गर्न जरुरी छ । स्थानीय समुदायसमेत संलग्न गरिनुपर्छ, जसमा ३३ प्रतिशत महिला गणक हुनुपर्छ ।’

जनगणना कार्य सांस्कृतिक समावेशी विषय भएकाले त्यसमा पूर्वाग्रह एवं दुराग्रह रहन नहुने विश्लेषक सीके लालले बताए । ‘सरोकारवालासम्म पुगेर उनीहरूले जे बताउँछन्, त्यसलाई गणकले लगतमा उल्लेख गर्नुपर्छ,’ उनले भने, ‘सरकार चार तहमा रहेकाले मातृभाषा, पारिवारिक भाषा, तेस्रो र चौथो भाषा उल्लेख गरिनु उचित हुनेछ । औपचारिक डिग्रीको सर्टिफिकेटले केही गर्दैन । त्यसैले साक्षर मात्र भए पनि जसको जे सीप छ, त्यो उल्लेख गरिनुपर्छ ।’

प्रकाशित : भाद्र २९, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?