अब पाठ्यक्रममै चिनियाँ भाषा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पठनपाठन गर्ने उल्लेख भएको धेरै वर्षपछि त्यसले औपचारिकता पाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल सरकारबीच हालै भएको ‘स्वयंसेवक भाषा शिक्षक’ उपलब्ध गराउने समझदारीले त्यसलाई मूर्तरूप दिन सघाउनेछ । चीन सरकारले भाषा पढाउन स्वयंसेवक शिक्षक खटाउने समझदारी भएको हो ।

‘राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ, हिन्दी, अरबीजस्ता भाषा पढाउने उल्लेख छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘अहिले चीन र नेपाल सरकारबीच स्वयंसेवक शिक्षक खटाउनेबारे समझदारी भएको छ । अब भने औपचारिक रूपमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढ्छ ।’

काठमाडौंलगायत मोफसलका केही निजी विद्यालयले ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाउँदै आएका छन् । उनीहरूका लागि नेपालस्थित चिनियाँ दूतावासले स्वयंसेवक शिक्षक खटाउने गरेको छ । स्वयंसेवक शिक्षकले शिक्षा मन्त्रालयसँग अनुमति लिनुपर्छ ।

हालसम्म ८६ जना चिनियाँ नागरिकले स्वयंसेवक शिक्षकको आवेदन दिई मन्त्रालयबाट अनुमति पाएको प्रवक्ता अर्यालले भने, ‘झन्डै ५० वटा विद्यालयमा चिनियाँ भाषा पढाइ भइरहेको छ ।’ तर चिनियाँ भाषाको औपचारिक पाठ्यक्रम बनेको छैन ।

दूतावासले चिनियाँ भाषा पढाउन चाहने विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शिक्षक संख्या र सेवासुविधाको अनुगमन गर्छ । त्यसै गरी आवश्यक मापदण्ड पुगेका विद्यालयमा नयाँ शैक्षिक सत्रअनुसार वैशाख १२ गतेभित्र शिक्षक खटाउनेछ । स्वयंसेवक शिक्षकको बास र खानाको प्रबन्ध विद्यालयले नै गर्नुपर्छ । न्यूनतम स्नातक तह उत्तीर्ण गरेकाले स्वयंसेवक शिक्षक बन्न पाउँछन् ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

मुसहरका घरैपिच्छे इन्टरनेट

शिव पुरी

गजरा, रौतहट — गुजरा नगरपालिका–५ लक्ष्मीपुरको मुसहर बस्ती अब पहिलेजस्तो छैन । फुसका घर पक्कीमा रूपान्तरित हुँदै छन् । खरका छाना सिमेन्टका टायलमा बदलिएका छन् । पढ्नेहरू बढेका छन् ।

विगतमा आफैंभित्रको अभाव, अशिक्षा र गरिबीमा जकडिएर बसेका उनीहरू अहिले बाहिरी संसार पनि बुझ्दै छन् । त्यसबारे चर्चा गर्छन् ।

बस्तीका ३० वटै घरमा इन्टरनेट जोडिएको छ । एन्ड्रोइड मोबाइल नभएका घर बिरलै छन् । छोरी–बुहारीसमेत नेट चलाएर समाचार हेर्छन् । युट्युबबाट मनोरञ्जन लिन्छन् । सबैजसोका सञ्चारमा पहुँच छ । गाउँका प्रलाद माझी मुसहरले सामूहिक रूपमा पैसा तिर्ने गरी इन्टरनेट जडान गरेका छन् ।

बस्तीको बीचमा घर भएकाले त्यहींबाट वाइफाईको पासवर्ड लिएर गाउँका युवायुवती फेसबुक, म्यासेन्जर, भाइबर र युट्युब चलाउँछन् । त्यसैबाट सरसफाइका उपाय सिक्छन् । अब उनीहरूले पढ्नुपर्छ भन्ने बुझेका छन् । मुसहर बस्ती क्रमशः ‘स्मार्ट’ बन्दै छ ।

गाउँमा आठ महिनाअघि इन्टरनेट जडान गरिएको हो । युवायुवतीदेखि पाको उमेरकाहरू पनि बिहान–बेलुकी मोबाइलमा सूचना लिनदेखि फिल्म हेर्न व्यस्त देखिन्छन् । सोमबार अधिकांश महिला भारतको रेल्वे स्टेसनमा मागेर गुजारा चलाउँदै आएकी रानु मण्डलको फेरिएको जीवनबारेको सामग्री हेरिरहेका थिए । गाउँका अगुवा नथुनी मुसहर उनीहरूलाई रानुबारे जानकारी गराउँदै थिए ।

नेटबाटै उनीहरूले देशविदेशको खबर बुझ्न पाएका छन् । ‘बिस्तारै सबै जना मोबाइलमा नेट चलाएर खबर हेर्न र बिभिन्नखाले मनोरञ्जन लिन सक्ने भएका छन्,’ नथुनीले भने, ‘पछिल्लो समय इन्टरनेटप्रति मुसहर समुदायको आकर्षण बढ्दो छ । बिस्तारै सबैले यो सुविधा लिन चाहेका छन् ।’ सुबिसु नेटवर्कले गाउँमा नेट जडान गरिदिएको हो । उनीहरू महिनैपिच्छे एक सय रुपैयाँका दरले १५ घरले रकम उठाएर बुझाउँछन् ।

प्रलाद मुसहरका छोरा प्रदीप पोखरामा बीबीएस पढ्दै छन् । अरू ४ जना युवा बिभिन्न क्याम्पसमा स्नातक तह पढिरहेका छन् । यस्तो अरू मुसहर बस्तीमा विरलै हुन्छ । यहाँका करिब १० युवकले एसएलसी उत्तीर्ण गरेका छन् । पढ्ने उमेरका अधिकांश बालबालिका विद्यालय जान्छन् ।

इन्टरनेट जोडिएपछि समाचार पढ्न र हेर्न सजिलो भएको पूजादेवी माझी (मुसहर्नी) ले सुनाइन् । ‘सुरुमा त मोबाइल कस्तो हो र कसरी चलाउने भन्ने जानकारी थिएन,’ उनले भनिन्, ‘नेट जडान भएपछि बिस्तारै सिक्दै गएँ । अहिले मज्जाले नेटको सदुपयोग गर्छौं ।’ उनी १० मा पढ्छिन् । कुनै संघसंस्थाले सहयोग गरिदिए गाउँका सबैले एकसाथ इन्टरनेट प्रयोग गर्न पाउने उनीहरूको भनाइ छ । लक्ष्मीपुरबाहेक कुनै पनि मुसहर बस्तीले नेटको सुविधा लिएका छैनन् ।

यहाँ लेखपढ गर्न नजान्नेहरू ज्याला मजदुरी गर्छन् । पढेका केहीले बिभिन्न सामाजिक संघसंस्थामा काम गर्दै आएका छन् । गाउँका तीन बुहारीले एसएलसी उत्तीर्ण गरेका छन् । उनीहरू इन्टरनेटको सहायतामा स्वास्थ्य, सरसफाइ तथा सामाजिक चेतनाका सामग्री हेर्छन् । अरूलाई पनि ती सामग्रीबारे जानकारी गराउँछन् ।

रविना माझीले वाइफाईले नयाँ विषयको जानकारी लिन सजिलो बनाएको बताइन् । उनले एसएलसी उत्तीर्ण गरेकी छन् । अहिले सबैले सरसफाइमा ध्यान दिन्छन् । प्रत्येकका घरमा खानेपानीको धारा छ । घर कच्ची भए पनि शौचालय पक्की बनाएका छन् । जिल्लामा ६० वटाजति मुसहर बस्ती छन् । उनीहरूको संख्या १५ हजार ३ सयजति छ ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्