१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शिक्षक दरबन्दीबिना प्राविधिक शिक्षा

काठमाडौँ — प्राविधिक शिक्षा अध्यापन गराउने समाुदायिक विद्यालयमा शिक्षक टिकाउन मुस्किल परेको छ । स्थायी दरबन्दी नहुँदा प्राविधिक शिक्षक अर्को अवसर आउनासाथ हिँडिहाल्ने समस्या रहेको विद्यालयहरूले जनाएका छन् । 

सरकारले २०७० सालदेखि सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागू गरेको हो ।


प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, प्लान्ट साइन्स, एनिमल साइन्स र म्युजिकल साइन्स पढाइ हुँदै आएको छ । अरू विषयसमेत थपिने क्रममा छ । चालु शैक्षिक सत्रमा १ सय ५० वटा थपिएसँगै प्राविधिक शिक्षा अध्यापन गराउने विद्यालयको संख्या ४ सय ३३ पुगेको छ ।


‘प्राविधिक धारमा विद्यार्थीको आकर्षण बढदो छ,’ प्राविधिक शिक्षक संघका अध्यक्ष महेश पौडेलले मार्टिन चौतारीमा बिहीबार आयोजित अन्तरक्रियामा भने, ‘तर शिक्षकको दरबन्दी सिर्जना भएको छैन । भविष्य सुनिश्चित नहुने भएपछि शिक्षकले बीचैमा छाड्ने गरेका छन् ।’


सरकारले प्राविधिक शिक्षा पढाउने विद्यालयलाई वार्षिक २१ लाख ५६ हजार रुपैयाँका दरले अनुदान दिने गरेको छ तर विद्यालयले प्राविधिक शिक्षाका निम्ति छुट्टिएको बजेट अन्य शीर्षकमा खर्च गर्ने गरेको संघले जनाएको छ । ‘विज्ञान, कम्प्युटरलगायत विषय व्यवस्थित प्रयोगशालाबिना पढाइएका छन् । एकै जना शिक्षकले धेरै विषय पढाउनुपर्ने बाध्यता छ,’ अध्यक्ष पौडेलले भने ।


संघको तथ्यांकअनुसार देशभर प्राविधिक धारका शिक्षक २ हजार ५ सय जना छन् । ‘राज्यले प्राविधिक शिक्षा गरिब विद्यार्थीको पहुँच पुर्‍याउन गरेको भए पनि शिक्षक व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ,’ संघका उपाध्यक्ष केदारनाथ दाहालले भने, ‘प्राविधिक शिक्षा, शिक्षक र विद्यार्थीको भविष्य सुनिश्चित गराउन जरुरी छ ।’


कतिपय विद्यालयमा शिक्षकले बीचैमा पढाउन छाडेपछि प्राविधिक धारको शिक्षा बन्द गर्ने स्थिति रहेको संघले जनाएको छ । शिक्षक सेवा आयोगले आगामी असोजमा लिन लागेको शिक्षण अध्यापक अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षामा प्राविधिक धारलाई पनि समेटिएको छ तर अहिलेसम्म शिक्षक दरबन्दी सिर्जना भएको छैन ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?