विवादै विवादमा उपकुलपतिहरू बिदा

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको पदावधि बिहीबार सकिँदै छ । पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । उनीहरुमध्ये अधिकांशको चारवर्षे कार्यकाल विवादकै सेरोफेरोमा बितेको छ ।


छ विश्वविद्यालयका उपकुलपति चार वर्षे कार्यकाल सकिएर बाहिरिदै छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको पदावधि बिहीबार सकिँदै छ ।

पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, कृषि तथा वन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति शुक्रबार बाहिरिनेछन् । पदावधि नसकिँदै कतिपय उपकुलपति गाडी र अन्य सुविधासहित बिदामा बसेका छन् । राजनीतिक भागबन्डामा नियुक्त अधिकांश उपकुलपतिको कार्यकाल भने विवादकै सेरोफेरोमा रहेर सकिँदै छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला डेढ महिनाअघि पदीय हैसियतमा अमेरिका यात्रामा निस्किएका छन् । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कुलप्रसाद कोइराला गाडीलगायतको सुविधासहित काठमाडौंमा छन् । उनी गत साउन ३२ गते नै केन्द्रीय कार्यालय, दाङको बेलझुन्डीबाट बिदा भएर आएका हुन् ।

‘मैले औपचारिक बरबुझारथ गर्नु पर्दैन,’ भदौ शुक्रबारसम्म कार्यकाल रहेका कोइरालाले भने, ‘रेक्टरले कार्यवाहक उपकुलपतिको जिम्मेवारी लिन्छन् । कुलसचिवले अन्य काम गर्छन् । दोस्रो टिम आउनेबित्तिकै मैले चलाएको गाडी खोज्लान् । म बुझाउने छु ।’ उनी कांग्रेस कोटामा नियुक्त उपकुलपति हुन् ।

उपकुलपति कोइरालाले व्यक्तिले कब्जा जमाएको जग्गा विश्वविद्यालयको स्वामित्वमा ल्याउन सकेको दाबी गरे । ‘सम्पूर्णानन्द विश्वविद्यालयको फोटोकपीझैं रहेका पुराना पाठ्यक्रमलाई परिमार्जन गराउन र केही नयाँ विषय थप्न पनि सफल भएँ,’ उनले भने, ‘संस्कृतको उत्तरमध्यमा हटाएर स्नातक प्राविधिकतर्फ ४ वर्षे र साधारणमा ३ वर्षे कोर्स लागू गराएँ ।’ चार वर्षसम्म दीक्षान्त समारोह आयोजना गर्न नसकेका उनले ‘राजनीतिक दुराग्रह’ लाई कारण देखाए ।
उपकुलपति कोइराला केन्द्रीय कार्यालय दाङको सट्टा सम्पर्क कार्यालय काठमाडौंमै रहेर अधिकांश समय बिताएका थिए । मन्त्रिपरिषद्ले विश्वविद्यालयको काठमाडौंमा सम्पर्क कार्यालय राख्ने नीति खारेज गरे पनि कोइरालाले पालना गरेनन् । विश्वविद्यालयको खर्चमा आफूखुसी क्यानडा जाने क्रममा उनलाई गत वर्ष असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएर बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा बन्दीझैं राखिएको थियो ।

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले उपलब्धिमूलक काम गरेको दाबी गरे । उनको चार वर्षे कार्यकालमा धेरैजसो समय विवाद र तालाबन्दीमै बितेको थियो । उनी कृषि तथा वनविज्ञानमै कार्यरत प्राध्यापक समेत हुन् ।

‘उपकुलपतिको कार्यकाल मात्र सकिएको हो, मेरो १० महिना सेवा अवधि बाँकी छ,’ उनले भने, ‘दीक्षान्त एक पटक गर्न सक्यौं । बेलाबेला हुने तालाबन्दीमा पनि गेस्टहाउसबाटै काम सुचारु राख्यौं ।’ पाँचवटा आंगिक क्याम्पस स्थापना र शिक्षक तथा कर्मचारीका ६ सय ५३ दरबन्दी सिर्जना गर्न सकेको उनले बताए ।

उपकुलपति ढकालले कमजोर मापदण्ड बनाएर प्राध्यापक बढुवा गरेको र ८ वटा निजी कलेजलाई सम्बन्धन दिएको आरोप छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा स्थापित उक्त विश्वविद्यालयलेआफ्नो स्वामित्वमा जग्गा कायम गर्नसकेको छैन ।

त्यसको सट्टा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई खुसी पार्न आफ्नो स्वामित्वमै नरहेको २० बिघा जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन मन्जुरी दिएका छन् । ‘धुर्मुस(सुन्तली फाउन्डेसन हाम्रो गौरव हो, त्यसैले क्रिकेट मैदानको चौडाई २ सय ५० मिटर नपुग्ने भएपछि महानगरपालिका, त्रिवि र हामीबीच सम्झौता भएको हो,’ उनले भने, ‘त्यसको सट्टा वडा नं.२० मा जग्गा दिन्छौं भनेका छन् ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठ पहिलो महिला उपकुलपति हुन् । उनले आफ्नो कार्यकालमा ४ सय ४४ जना शिक्षक, कर्मचारीको दरबन्दी सिर्जना गरेको बताइन् । १४ आंगिक क्याम्पस बनाएको, बिएस्सी कृषि नयाँ संकाय स्थापना, स्नातकोत्तरमा विशेष आवश्यकता शिक्षा, स्ट्रक्चरल इन्जिनियरिङको पठनपाठन सुरु गरेको र एउटा दीक्षान्त समारोह सम्पन्न गर्नसकेको बताइन् ।

कांग्रेस कोटामा परेकी उपकुलपति श्रेष्ठ राजनीतिक कोपभाजनमा परिन् । उपकुलपति श्रेष्ठ र रजिस्ट्रार द्विराज भट्टले त्रिविबाट सम्बन्धनप्राप्त १४ क्याम्पसलाई मनोमानी ढंगले आंगिक क्याम्पस बनाउने निर्णय गरेको, विश्वविद्यालयको धनगढीस्थित केन्द्रीय कार्यालय नगई काठमाडौंमै सम्पर्क कार्यालय राखेर काम गरेको, आर्थिक हिनामिना गरेको आरोप लाग्यो र गत वर्ष पुसदेखि काम गर्न दिइएन ।

सरकारले ‘एक महिना काम नगर्नू’ भनेर निलम्बनसहित विश्वविद्यालयकै विज्ञान संकाय डिन पूर्णबहादुर चन्दलाई कार्यवाहक उपकुलपति र शिक्षाशास्त्र संकाय डिन गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिएको थियो । ‘एक महिनाको निम्ति काम नगर्न भनियो तर पुसदेखि बर्खास्त हो कि निलम्बन हो, कुनै छिनोफानो गरिएन,’ भदौ ६ गते बाहिरिँदै गरेकी उपलकुपति श्रेष्ठले भनिन्, ‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपानिकट दुई जनालाई कार्यवाहक दिइएको छ ।

उपकुलपति खनियाँ बिहीबार साँझ विश्वविद्यालयबाट औपचारिक रूपमा बिदा हँुदै छन् । ‘उपकुलपति भएर भूमिगतजस्तै आइयो, भूकम्पबाट कार्यालय भत्किएकाले बस्ने ठाउँसमेत थिएन,’ उनले भने, ‘मेरै कार्यकालमा सुविधासम्पन्न उपकुलपति भवन बनेको छ ।

बिहीबार ५ बजे मैले प्रयोग गर्दै आएका गाडी र सुविधालाई छाडेर आफ्नै गाडीमा घर फर्किनेछु ।’ टाइम्स हाइयर एजुकेसनले गरेको वल्र्ड युनिभर्सिटी र्‍याङकिङमा त्रिवि एक हजारमा आठ सयभित्र पर्नुलाई खनियाँ उपलब्धि मान्छन् ।

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्षे उमेरहद लागू गरेको, त्रिविमा केन्द्रीय एलुम्नाइ एसोसिएसन गठन गरी काम थालेको पनि उनले सुनाए । त्रिविले शैक्षिक क्यालेन्डर व्यवस्थापन गर्न नसक्दा विश्वसनीय आधार भने निर्माण हुन सकेको छैन ।

‘हस्तक्षेपको सिकार’
पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा घनश्यामलाल दास आफ्नो चार वर्षीय कार्यकालमा सबैभन्दा ठूलो उपलब्धि परीक्षा प्रणालीमा सुधारलाई मान्छन् । ‘म विश्वविद्यालयमा आउनुअघि ६ महिने सेमिस्टरको परीक्षा हुन डेढ वर्ष लाग्थ्यो,’ उनले भने, ‘अहिले समयमा कोर्स पूरा हुने र परीक्षा पनि समयमै भएर नतिजा चाँडै प्रकाशन गर्ने प्रणाली विकास भएको छ ।’ उनका अनुसार यो विश्वविद्यालयमा पछिल्लो समय ‘एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन’ प्रणाली लागू भएर परीक्षासम्बन्धी अनलाइन प्रणाली विकास भएको छ ।

विश्वविद्यालयका यसअघिका प्राय: सबै उपकुलपतिले सम्बन्धन बाँडेका थिए । आफ्नो कार्यकालमा एउटा पनि सम्बन्धन नबाँडेको दासको भनाइ छ तर विश्वविद्यालयका आंगिक क्याम्पस चाहिँ थपे । दुई दशकदेखि अस्थायी रहेका सबै कर्मचारीलाई स्थायी तथा पदोन्नति गरेर आंगिक र मेडिकल कलेज सञ्चालनका लागि बजेट व्यवस्था गरेको दासको दाबी छ । ‘म आउँदा विश्वविद्यालयको कोषमा ५ करोड रकम मौज्दात थियो,’ उनले भने, ‘अहिले विश्वविद्यालयको कोषमा एक अर्ब रकम मौज्दात छ ।’ दासले भने, ‘राजनीतिक हस्तक्षेप र तालाबन्दी यो विश्वविद्यालयको सबैभन्दा ठूलो समस्या हो ।’

उपकलुपति दासले राजनीतिक र सरकारी हस्तक्षेपका कारण यो विश्वविद्यालय डेढ वर्षदेखि कार्यकारी र प्राज्ञिक परिषद्बिना सञ्चालन हुँदै आएको बताए । दासको चार वर्षीय कार्यकाल पनि शुक्रबार सकिँदै छ । दास उपकुलपतिमा नियुक्ति हुँदा उनको कार्यकक्षमा तालाबन्दी थियो । उनी कार्यकाल सकेर बिदाइ हुने समयमा पनि कार्यकक्षमा तालाबन्दी छ ।

उनले नियुक्ति पाउँदा विश्वविद्यालयका कर्मचारी, प्राध्यापक र विद्यार्थी संगठनले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्दा दासले तीन महिनासम्म बाहिर बसेर कार्यसम्पादन गरेका थिए । अहिले पनि उपकुलपति, रजिस्ट्रार र विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा सरकार निकट विभिन्न विद्यार्थी संगठनले लगाएको तालाबन्दी छ । ‘मेरो चार वर्षीय कार्यकालको १ हजार ४ सय ६० दिनमध्ये दुई सय दिनभन्दा बढी विद्यार्थी र कर्मचारीको तालाबन्दीमा गुज्रियो,’ दासले भने ।

संस्कृतमा राजनीति
नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) का उपकुलपति कुलप्रसाद कोइराला पनि शुक्रबार बिदा हुँदै छन् । चारवर्षे कार्यकालमा राजनीतिक खिचातानी, परम्परागत सोच र अदक्ष जनशक्तिका कारण विश्वविद्यालयले चाहे जस्तो गति लिन नसकेको उनले बताए ।

विश्वविद्यलायमा जहिले पनि राजनीति हावी हुँदा शैक्षिक गतिविधि ओझेलमा पर्ने गरेको उनको बुझाइ छ । ‘विश्वविद्यालयको अथाह सम्पत्ति छ, भोगचलनमा ल्याउन सकिएको छैन । प्रयास गर्दा पनि सफल भइएन,’ कोइरालाले भने, ‘२० वर्ष पुरानोपाठ्यक्रम पढाएर अघि बढिँदैन । पाठ्यक्रम तत्काल परिवर्तन गर्नुपर्छ ।’ विज्ञ समितिलाईपाठ्यक्रम बनाउने जिम्मेवारी दिए पनि बन्न नसकेको उनले बताए ।

कुलसचिव कात्तिकेय झाको भदौ २७ र शिक्षाध्यक्ष ढकालको असोज १७ मा म्याद सकिँदै छ । सेवा आयोगका अध्यक्ष वेणीमाधव ढकाल र सदस्य श्रीधर मजगैयाको म्याद सकिएको लामो समय भइसक्यो । नयाँ पदाधिकारीले अब विश्वविद्यालयलाई कसरी अघि बढाउँछन् भन्ने चासो बढेको छ ।

२६४ दिन ताला
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठको कार्यकाल जिम्मेवारीमुक्त रहेकै अवस्थामा सकिँदै छ । सुदूरपश्चिमका १४ क्याम्पसलाई आंगिक बनाउँदा भएको त्रुटि र आर्थिक अनियमितता छानबिनकै क्रममा उपकुलपति श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई पुस २७ देखि जिम्मेवारीमुक्त गरिएको हो ।

उनीहरूले विश्वविद्यालयको बौद्धिक विकासभन्दा पनि व्यक्तिगत लाभतिर मात्रै ध्यान दिएको सरोकारवालाहरू बताउँछन् । ‘यो ४ वर्षमा प्राज्ञिक क्षेत्रमा विश्वविद्यालय एक कदम पनि अघि बढेन,’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक मुकुन्द कलौनीले भने, ‘पदाधीकारी र प्राध्यापकबीच पनि राम्रो सम्बन्ध भएन ।’

उपकुलपति श्रेष्ठ र रजिस्ट्रार भट्टले आफ्नो कार्यकालको अधिकांश समय काठमाडौंमै बिताए । ४ वर्षको अवधिमा २३ पटकसम्म गरी २ सय ६४ दिन ताला लागेको छ । उपकुलपतिको काम गर्न विज्ञान तथा प्रविधि संकायका डिन डा. पूर्णबहादुर चन्दलाई र रजिस्ट्रारको कामकाज गर्न शिक्षा संकायका डिन डा. गोविन्द विष्टलाई जिम्मेवारी दिइएको थियो । चैत २७ मा उनीहरूलाई जिम्मेवारी दिएदेखि केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको छैन । नेविसंघले दुई/दुईउपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको भन्दै ताला लगाएको हो ।

०६६ असारमा स्थापना भएको विश्वविद्यालयमा आन्तरिक विवाद र समन्वय अभावका कारण शैक्षिक विकास मात्रै रोकिएको छैन, भौतिक पूर्वाधार निर्माणमा पनि खासै प्रगति हुन सकेको छैन । आंगिक बनाइएका क्याम्पसमा भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन लथालिंग छ । सुदूरपश्चिम विश्वविद्यालय कस्तो पृष्ठभूमिमा स्थापना भएको हो, यसका लागि कसरी आन्दोलन भएको छ, सबै बुझेको र सुदूरपश्चिमप्रति लगाव भएको व्यक्ति उपकुलपति बनाइनुपर्ने प्राध्यापकहरू बताउँछन् ।

निमित्तका भरमा
पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीविप्रसाद शर्मा र रजिस्ट्रार गोविन्द शर्माको पदावधि असोज ७ मा सकिँदै छ । ४ वर्षको अवधिमा ८ महिना बिदा बस्न पाउने सुविधा प्रयोग गर्दै दुवैजना बिदामा छन् । उपकुलपति असार अन्तिमबाट बिदामा बसेका हुन् । उनले साउन १ देखि लागू हुने गरी भदौ मसान्तसम्म विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

रजिस्ट्रार शर्माले साउन १२ बाट भदौ मसान्तसम्म स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका सहप्राध्यापक अजय थापालाई निमित्त सुम्पिएका छन् । ‘दैनिक भैपरी आउने काम रोकिएका छैनन्,’ विश्वविद्यालयका सूचना अधिकारी लोकनाथ ढकालले भने, ‘नीतिगत निर्णय मात्रै गर्न मिल्दैन ।’

तर पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काठमाडौंको नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गरेका खेम सेन्चुरीले स्नातकोत्तर उत्तीर्णको प्रमाणपत्र नपाउँदा समस्या परेको बताए । प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका उनी जर्मनीमा छात्रवृत्तिमा पीएचडी अध्ययन गर्न आवेदन दिने तयारीमा छन् ।

निमित्तले प्रमाणपत्रमा सही गर्न नमिल्ने बताउँछन् । ‘अगस्ट ३१ सम्ममा प्रमाणपत्र नआए मेरो पीएचडी आवेदन गर्ने म्याद सकिन्छ,’ सेन्चुरीले भने, ‘शिक्षामन्त्रीसमक्ष लिखित निवेदन पेस गरेको छु तर उहाँ त्यति उत्साहित देखिनुहुन्न ।’ विश्वविद्यालयले उनलाई ‘प्रमाणपत्र बन्ने प्रक्रियामा रहेको’ बेहोराको पत्र थमाएको छ ।

दीपक परियार (पोखरा), विनोद भण्डारी (विराटनगर), दुर्गालाल केसी (दाङ) र भवानी भट्ट (कञ्चनपुर) को सहयोगमा ।

प्रकाशित : भाद्र ५, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले घर पुरिँदा वृद्धको मृत्यु (अपडेट)

दिप्ती सिलवाल

पर्वत — बिहीबार बिहान कुश्मा–२ खुर्कोटस्थित बुढीस्वाँरमा पहिरोले घर पुरिँदा ७० वर्षीय वृद्धको ज्यान गएको छ । २ तले घर पहिरोले पुरिँदा भित्र सुतिरहेका घरमुली रेमबहादुर चालिसेको ज्यान गएको हो । 

बिहीबार बिहानको पहिरोले पुरिएको घर पन्छाउँदै उद्धारकर्ता । तस्बिर: सौजन्य: गणेश गिरी


बस्तीदेखि टाढाको घरमा एक्लै सुतिरहेका चालिसेको शव सिरक भित्रबाट बिहीबार बिहान ११ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निकालेको हो। पहिरो पन्छाउने क्रममा करिब ३ घण्टाको प्रयासपछि ओढेर सुतेकै अवस्थामा शव फेला परेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

‘मोबाइलमा फोन गइरहेको थियो। सुरुमा घरमुली घरबाहिर वा अन्त कतै गएको आशंका गरियो,’ अर्यालले भने, ‘सम्पर्कमा नआएपछि पुरिएको आशंकामा पहिरो पन्छाउँदा शव नै भेटियो।’

मृतकको शव बिहीबारै पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल ल्याइएको छ। एक्लो घर भएकोले पहिरो कतिबेला गएको भन्ने नखुलेको अर्यालले बताए।

बिहान करिब ६ बजेतिर छिमेकीले पहिरोमा घर पुरिएको बारे प्रहरीलाई खबर गरेका थिए। सदरमुकामबाट प्रहरी प्रमुख अर्यालसहित सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली घटनास्थलमा पुगेको थियो।

चालिसेका दुई भाई छोरामध्ये एक पोखरा र एक बैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ। श्रीमती बुधबारै छोरी भेट्न गएकी थिइन्। घटनामा अरु क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरीका सूचना अधिकारी राजन रायमाझीले बताए।

प्रकाशित : भाद्र ५, २०७६ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्