कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटार जग्गा प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

कृष्ण ज्ञवाली

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ ।

बालुवाटार जग्गा प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् ।

‘हामीलाई प्राप्त सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरूका आफन्त र नातेदारका नाममा सित्तैमा दिइएको थियो,’ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘हालैको बकसपत्रका नाममा भएको कारोबार हेर्दा २० रोपनीभन्दा बढी जग्गा त्यसरी कारोबार भएको भेटिन्छ । अरूका हकमा पनि खोजिरहेका छौं ।’ उपहार पाउनेहरू ८–१० जना भेटिएका छन् भने अरूको खोजी भइरहेको छ ।

बालुवाटार जग्गा प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

सरकारले पञ्चायतकालमा अधिग्रहण गरेर लिएको जग्गालाई ‘जफत’ गरेको भन्ने अर्थ लगाई डिल्लीबजार मालपोत कार्यालयबाट २०४९ सालमा दुई चरणमा १ सय १२ रोपनी ४ आना जग्गा राणा परिवारको नाममा फिर्ता भएको थियो । फिर्ताका क्रम सुरु हुनासाथ त्योमध्येको केही जग्गा ‘बकसपत्र’ गरी आफन्तको नाममा समेत नामसारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातमा देखिन्छ ।

कांग्रेसका संस्थापक नेता सुवर्णशमशेरका तीन छोरा थिए । सुवर्णको जेठो छोरा कनकशमशेर हुन् भने कनककी पत्नी सुनिती राणा हुन् । सुवर्णका माइला छोरा/बुहारी कञ्चन र शैलजा हुन् । यिनका छोराहरू हाटक र हेमनशमशेर हुन् । रुक्मशमशेर सुवर्णका कान्छा छोरा हुन् । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुँदा राणा परिवारका यी नाम जोडिएका छन् । बकसपत्रको नाममा शंकास्पद कारोबारसमेत यिनकै नामबाट भएको छ ।

प्राप्त कागजातअनुसार २०४९ कात्तिक २५ मा मिसिल नम्बर १०२४ बाट सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेपछि एक साताभित्रै तीनपटक व्यक्तिका नाममा बकसपत्र गरी हस्तान्तरण भएको छ । जसअनुसार, मंसिर १ गते २७ र २८ नम्बरको कित्ताबाट एक रोपनी १० आना र दुई रोपनी आठ आना जग्गा बकसपत्रमार्फत बाँडिएको छ ।


शैलजा, हाटक र हेमनशमशेर राणाले आफ्नो नामको ५६ आना जग्गा गोठाटार–६ ठेगाना भएकी मिठुदेवी पसाई र नवलपरासी तमहरिया–८ ठेगाना भएका इन्द्रबहादुर थापाको नाममा बकसपत्र गरेका छन् । यी दुईको नाममा आएको जग्गा पछि चैत २३ गते सगोलनामा भई सरस्वतीकुमारी श्रेष्ठ र शान्ति मल्ल प्रधानांगको नाम थपिएको देखिन्छ ।

सोही दिन अर्को शंकास्पद हस्तान्तरण पनि भएको छ । ११ आना र ५३ आना गरी कुल ६४ आनाको दुई कित्ता जग्गा तीनैजना राणा परिवारले भुवनकुमारी चापागाईं अनि उर्मिला शाहका नाममा ‘बकसपत्र’ गरिदिएका थिए । चापागाईं गृह मन्त्रालयका अवकाश प्राप्त सहसचिव गेहनाथ भण्डारीकी पत्नी हुन् भने शाह पूर्वसहसचिव एवं निर्वाचन आयोगका निवर्तमान आयुक्त सुधीरकुमार शाहकी पत्नी हुन् । ‘सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न यी दुई पात्रको महत्त्वपूर्ण एवं निर्णायक भूमिका देखिन्छ,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले कान्तिपुरसित भने, ‘यो जग्गा सोझै घूस हो, नत्र चिन्नु न जान्नुको मान्छेलाई कसैले बालुवाटारको जग्गा बकसपत्र गरेर दिन्छ ?’

त्यही दिन सित्तैमा अर्को कारोबारसमेत भएको छ । कित्ता नम्बर १८ को ३० आना (१ रोपनी १४ आना) जग्गा शैलजा, हाटक र हेमनबाट दुई व्यक्तिका नाममा बकसस्वरूप गएको छ । जग्गा पाउनेहरू ताप्लेजुङ २ का खिमादेवी आङबुहाङ अनि तेह्रथुमका मोहनप्रसाद भट्टराई हुन् । ‘भट्टराईचाहिँ तत्कालीन सचिव शरद भट्टराईका नजिकका व्यक्ति भएको खुलेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘खिमादेवीका बारेमा सोधखोज हुँदै छ ।’

सुरुमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिसकेपछि राणा परिवारले आफूले पाएको मध्ये केही हिस्सा विभिन्न व्यक्तिका नाममा बकसपत्र गरिदिए । विभिन्न उच्च पदस्थ अधिकारीका आफन्तका नाममा जग्गा पास भएपछि दोस्रो चरणमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने योजना बन्यो । जसअनुसार २०४९ पुस २३ गते १०२५ नम्बरको मिसिल खडा गरी बाँकी जग्गासमेत राणा परिवारका नाममा दर्ता गरियो । अनि पाँच महिनापछि फेरि पाँचपटक बकसपत्र गरी विभिन्न व्यक्तिलाई बकसका नाममा बाँडेको देखिन्छ ।

‘२३ ह’ अन्तर्गतको १९ नम्बरको कित्ताबाट १० आना जग्गा शैलजा, हाटक र हेमनले उर्मिला शाह र सोदाकुमारी चापागाईंको नाममा गरे । त्यतिबेला भक्तपुरको मालपोत कार्यालयका प्रमुख रहेका सुधीरकुमार शाहकी पत्नीका नाममा दोस्रोपटक जग्गा उपहारका रूपमा गयो भने गृहका अधिकारी गेहनाथ भण्डारीले यसपटक पत्नीका नाममा नभई सासू सोदाकुमारी चापागाईंका नाममा राखिदिए ।

अर्को ३६ नम्बरको कित्ताबाट एक रोपनी जग्गा तीन राणा परिवारबाट उर्मिला शाह र भुवनकुमारी चापागाईंका नाममा गयो । अख्तियार स्रोतले भन्यो, ‘सबै कोणबाट विश्लेषण गर्दा सुधीर शाह र गेहनाथ भण्डारी बालुवाटारको जग्गा हत्याउने प्रमुख योजनाकार भएको खुल्छ ।’

त्यही दिन तेस्रो पटकसमेत जग्गाको बकस कारोबार भयो । २० र २६ नम्बरको कित्ताबाट २९ आना जग्गा निर्मलादेवी श्रेष्ठका नाममा गयो । नगर–३२ उल्लेख गरेकी निर्मला को हुन् ? हालसम्म खुलेको छैन । त्यही दिन १४ आना जग्गा कपन–७ ठेगाना उल्लेख भएकी विद्या पौडेल गौतमका नाममा गयो । अनि १९ आना जग्गा पनि तीन राणा परिवारबाट छवाकु–७ तेह्रथुम ठेगाना उल्लेख गरेका मोहनकुमार भट्टराई र शशिकला सुब्बाका नाममा बकसपत्र भयो । कुनै व्यक्तिले आफ्नो सम्पत्ति हकवालाबाहेकलाई सित्तैमा दिनु बकस हो ।

मालपोत कार्यालयमा ‘हालैको बकसपत्र’ लेखिदिएपछि जग्गाधनीको स्वामित्व तत्काल बकस पाउनेको नाममा सर्छ ।

जग्गाको अन्य कारोबार पनि शंकास्पद छ । उदाहरणका लागि, माधवी सुवेदीले २०६० वैशाख ८ गते एक रोपनी उपहार पाएकी छन् । २०६१ वैशाख ४ गते डिल्लीबजार मालपोत कार्यालयको कारोबार हेर्ने हो भने राणा परिवारले मन फुकाएर सम्पत्ति बाँडेको भेटिन्छ । ५ टुक्रा जग्गा बकसपत्रमध्ये एउटा टुक्रा पाँच रोपनी दुई आनाको छ भने अरू स–साना छन् ।

सुनिती, शैलजा र रुक्मशमशेरबाट विनिता अधिकारी, सरला गुरुङ अनि सुधीर भट्टराईले यो जग्गा पाएका हुन् । त्यही दिन १२ आना जग्गा यी तीनजनाले उमाकुमारी ढकाल्नीलाई दिएका छन् । सबै कारोबारको हिसाब गर्दा ३४८ आना (२१ रोपनी १२ आना) जग्गा बाँडिएको खुल्छ । त्यसको चार दिनपछि वैशाख ८ गते १८ कित्ता जग्गा राणा परिवारबाट भाटभटेनीका सञ्चालक मीनबहादुरले लिएका छन् । सरकारका नाममा हुनुपर्ने केही जग्गा ६२ जेठ ३ मा सुनितीले पाएकी थिइन् । पछिल्लो कारोबारमा भने किनबेच भएको भनी ‘राजीनामा’ लेखिएको छ । यो बेलामा बिक्री भएको र बाँडिएको जग्गा रुक्मशमशेरको हकको मात्रै हो ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?