कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बालुवाटार जग्गामा लेनदेन : शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी शान्ता खनालबीचको लेनदेन विवादको अडियो रेकर्डबाट खुले नयाँ तथ्य

कृष्ण ज्ञवाली

काठमाडौँ — बालुवाटारको २ सय ९९ रोपनी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गर्ने ‘योजनाकार’ शोभाकान्त ढकालले जग्गा मिलाउने क्रममा ठूलो रकम खर्च भएको खुलासा गरेका छन् । नातेदारसँगको लेनदेन विवादका क्रममा रेकर्ड भएर हाल सर्वोच्च अदालत पुगेको अडियोमा उनले आफूले सापटी लिएको रकमसमेत त्यही जग्गा मिलाउन खर्च भएको बताएका छन् ।

बालुवाटार जग्गामा लेनदेन : शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी शान्ता खनालबीचको लेनदेन विवादको अडियो रेकर्डबाट खुले नयाँ तथ्य

(सर्वोच्च अदालत स्रोतबाट प्राप्त शोभाकान्तले शान्ता खनालसँगको विवादका क्रममा भनेका कुराको अडियो रेकर्डको अंश ।)

‘ए भान्जी, यो पैसा मैले चलाएको त होइन नि । यो पैसा त गएको पो छ । पैसा मुद्दामा गएको छ ।

तपाईंको मात्रै होइन, हाम्रो पनि कति पैसा गएको छ,’ भान्जीबुहारी पर्ने शान्ता खनालसँगको करिब साढे तीन घण्टाको कुराकानीका क्रममा ढकालले भनेका छन्, ‘राणाहरूले गरेको मुद्दा सर्वोच्चमा पुग्यो, अख्तियारमा गयो । सबैसँग मुद्दा लड्दा कम हैरान त थिएन नि । मैले तपाईंको पैसा ल्याएर उहाँ बुझाएको हो । पैसा बुझ्ने मान्छे जिउँदै छ, सोधे हुन्छ ।’ ढकालले पैसा पुर्‍याउने र बुझ्ने व्यक्तिको नाम उल्लेख गरेका छैनन् ।

०४८/४९ सालतिर निम्न आर्थिक हैसियतका शोभाकान्तले आफ्नो दिनचर्या चलाउन सानोतिनो ‘जग्गा दलाली’ सुरु गरेका थिए । त्यसक्रममा ढकालले खनालसँग ऋण माग्ने, आफूले जग्गा तथा ब्याजमा लगानी गर्ने र प्रतिफल खाएर साँवासहितको मूलधन फिर्ता गर्न थालेका थिए । उनले बालुवाटारको जग्गामा पनि चलखेल सुरु गरेका थिए ।


‘लौ बालुवाटारको राम्रो ठाउँको जग्गा छ, अहिले नै लगानी गरे पछि भाउ पर्छ भनेर १० लाख रुपैयाँ मामाले लैजानुभएको हो,’ एक संस्थानको जागिरबाट अवकाश प्राप्त खनालले कान्तिपुरसित भनिन्, ‘पछि न पैसा फिर्ता गर्नुभयो, न जग्गा दिनुभयो । रकम फिर्ता माग्दा मलाई झूटो मुद्दा लगाउनुभयो ।’ उनका अनुसार दोस्रोपटक ढकालले ३ लाख फेरि मागे । अनि शान्ताका भाइ रञ्जनलाई समेत थप ४ आना जग्गा दिने भनी २ लाख भारतीय रुपैयाँ लिए ।

करिब १६ लाख रुपैयाँ फिर्ता मागेपछि ढकालले आफूविरुद्ध साढे २ करोड रुपैयाँको फर्जी मुद्दा लगाएको जनाउँदै रकम फिर्ताका लागि आफूले पटकपटक कुरा गरेको खनालले बताइन् । तिनै कुराकानीका क्रममा रेकर्ड भएको अडियो फाइल सर्वोच्च अदालतमा रहेको मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको हो । त्यही अडियोमा आधारित भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताबारे छानबिन गरिरहेको छ । खनालले कबुलअनुसारको जग्गा वा ब्याजसहितको रकम फिर्ता गर्न भनेपछि ढकालले सरकारी जग्गा आफ्नो नाममा पार्ने क्रममा मुद्दा मिलाउन खर्च भएको जवाफ दिएका हुन् ।

‘भान्जी, हजुरले मुद्दाका लागि भनेर हालेको पैसाको जग्गा हो । मुद्दाको पैसा मुद्दामै छ । आउनासाथ म दिन्छु,’ ढकालले भनेका छन्, ‘मुद्दामा परेपछि खर्च हुन्छ । दौडधुप हुन्छ, चाकडी कति गरिएको थियो । गर्‍यो भने धेरै कुरा छन् । हजुरको १५ लाख मसँग छ । कि पैसा लिनुहोस् । जग्गा हाम्रो नाममा आएपछि दिन्छु ।’ जवाफमा जग्गा ‘ढकाल समूह’ का नाममा आइसकेको भन्दै खनालले आफूमाथि छल गरिएको बताएको सुन्न सकिन्छ ।

ढकाल र रामकुमार सुवेदीलगायतको समूहले फर्जी मोही खडा गरी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हत्याएको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ । २०४९ सालताका राणा परिवारका नाममा सरकारी जग्गा हस्तान्तरण भएको थियो ।


२०६७ सालमा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा फेरि मोहीका नामबाट ढकाल र सुवेदीले जग्गा आफ्नो नाममा ल्याएका थिए । त्यस क्रममा विभिन्न सरकारी निकायहरूमा फाइलहरू पुगेको र निकै उल्झन बेहोर्नुपरेको ढकालले उक्त कुराकानीमा बताएका छन् ।

ऋण खोजेर घूस

अडियो रेकर्डमा ढकालले बारम्बार सापटी मागेको पैसा मुद्दाका क्रममा खर्च भएको भन्दै जग्गा आएपछि कबोलअनुसार पास गरिदिने बताएका छन् । उनको भनाइअनुसार ‘मुद्दामा खर्च भएको’ भनिएको रकम बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न प्रयोग भएको बुझिन्छ ।

‘२०५५ सालतिर बालुवाटारको जग्गासँग जोडिएको मोही र जग्गाधनीबाहेकको कुनै मुद्दा थिएन भन्ने देखिन्छ,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले कान्तिपुरसित भन्यो, ‘ढकालले मुद्दा मामिला र दौडधुपमा भएको भनेको खर्च गैरकानुनी लेनदेन हो । त्यो रकम विभिन्न निकायका अधिकारीलाई प्रभावित पार्न खर्च भएको आशंका छ । उनले ७५ जिल्लाकै न्यायाधीश आफ्ना साथी रहेको भन्दै प्रधानन्यायाधीशकै गाडीमा हिँड्ने भएकाले कुनै चिन्ता नहुने भनेर धम्क्याएको पनि पाइएको छ ।’

ढकालको भनाइअनुसार, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले ३ करोड ६१ लाख रुपैयाँ उनलाई सहयोग गरेका थिए । त्यसैले मीनबहादुरको जग्गासमेत आफू र

आफ्नी पत्नी उमा ढकालका नाममा रहेको उनले कुराकानीका क्रममा स्विकारेका छन् । जग्गा आफ्नो बनाउने क्रममा धेरैको लगानी फसेको उल्लेख गर्दै ढकालले ‘मुद्दालाई हालेको पैसाको जग्गा आउन बाँकी रहेको’ बताएका छन् ।

‘ए बाबा, अहिले पनि ३ करोड ६१ लाख रुपैयाँ मीनबहादुरलाई तिर्न बाँकी छ । अब पनि जग्गा नआउँदा ३ करोड ६१ लाख रुपैयाँ मीनबहादुरको पैसा पुग्दैन,’ उक्त अडियोमा उनले भनेका छन्, ‘हजुरले जग्गा किन्नुभन्दा पनि मुद्दाकै लागि भनेर पैसा हालेको हो । जग्गा आउनासाथ पाउनुहुन्छ ।’

कुराकानीका क्रममा ढकालले आफूलाई भाटभटेनी सञ्चालक गुरुङले ठूलो परिमाणको ऋण पत्याएको तर आफ्नै नातेदार भएर पनि भान्जीबुहारीले नपत्याएको भनेका छन् ।

रुक्मशमशेर राणाहरूले पैसा हालेर लिएको जग्गा मीनबहादुरको नामबाट आफ्नामा नामसारी भएको भन्दै ढकालले मोहीको जग्गा पाउनासाथ नामसारी गरिदिने अडियोमा बताएका छन् । ‘कि भान्जी तपाईंले पर्खनुपर्‍यो, होइन भने १६ लाख रुपैयाँको ब्याजसहित ५० लाखभन्दा बढी फिर्ता गर्न सक्दिनँ,’ ढकालले भनेका छन्, ‘ए भान्जी, हजुरले आफूले हालेको पैसा मात्रै देख्नुभयो, त्यो बेला कतिको पैसा हाल्यौं, हामीलाई थाहा होला ।’

बालुवाटारको जग्गा किनबेचमा ढकालको साथमा रामकुमार सुवेदीसमेत थिए । शारदाप्रसाद त्रिताल नेतृत्व समितिको प्रतिवेदनमा यी दुवै जनालाई भूमाफियाका रूपमा परिचित गराइएको छ । अडियोमा ढकालले पर्दापछाडि भाटभटेनीका सञ्चालक मीनबहादुरले ‘ठूलो सहयोग गरेको’ बताएका छन् । समितिका एक सदस्यले उक्त अडियो रेकर्ड प्रमाणका रूपमा आफूहरूलाई पनि प्राप्त भएको बताए । ‘हामीले पनि अडियो पाएको हो, तर समय अभावका कारण कार्यादेशमै सीमित भइयो, त्यसलाई विस्तृत रूपमा सुन्न/बुझ्न भ्याइएन,’ उनले भने ।

पैसा गयो, जग्गा आएन

हालसम्म आफूहरूले जग्गा नपाएको भन्ने ढकालको दाबीमाथि अविश्वास गर्दै खनालले रामकुमार सुवेदीसँगको कुराकानीको प्रसंग उठाउँछिन् । त्यसमा सुवेदीले भनेका छन्, ‘हामी सुरक्षित छौं भान्जी, ७ रोपनी जग्गा आयो ।’ सुवेदीले पनि खनाललाई भान्जी भन्ने गरेका छन् । त्यसबीचमा ढकालले भने जग्गा आफूहरूका नाममा भए पनि त्यो गुरुङकै स्वामित्वमा रहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिले त्यहाँ केही छैन, सबै मीनबहादुरजीको होल्डमा छ । मेरो पनि आफ्नो केही छैन ।’

बालुवाटारको जग्गा १० लाख रुपैयाँ प्रतिरोपनीका दरले खरिद गर्ने कल्पनासम्म गर्न नसकिने भन्दै ढकालले मुद्दा परेकाले सस्तोमा आएको बताएका छन् । उनले बीचमा निजी जग्गासमेत अधिग्रहण हुने जोखिममा रहेको बताएका छन् । कुराकानीका क्रममा निकै विवाद बढेपछि ढकालले मोहीका नाममा खडा गरिएका एक नेवार किसानबाट जग्गा हात परेलगत्तै दिने भनी सम्झौता गरिदिने बताएका छन् ।

ढकालले न्यायपरिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपाने अनि बिना अधिकारीका नाममा समेत जग्गा आएको भए पनि त्यसमा पनि गुरुङकै लगानी रहेको दाबी गरेका छन् । अरूका नाममा जग्गा आइपुग्दा तपाईंको नाममा चाहिँ किन आएन भनी खनालले प्रश्न गर्दा ढकालले भनेका छन्, ‘यो जग्गामा मीनबहादुरले पैसा हालेको हो । यो रुक्मशमशेरको जग्गा आएको हो ।’ ढकालको भनाइका आधारमा वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले २ करोड ७० लाख रुपैयाँ हालेको बुझिन्छ । ‘यो जग्गा दर्ताको फाइल डुलाउँदा कति खर्च भएको छ, हामीलाई थाहा छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री कार्यालय निवास विस्तार हुने योजना आफूहरूले सुटुक्क थाहा पाएको भन्दै ढकालले त्यसबाट आफूहरूको नाममा जग्गा दर्ता भएपछि सबैलाई ‘व्यवस्थापन गर्ने’ बताएका छन् । पैसा हाल्ने अरूले पनि पर्खेर बसेको भन्दै उनले खनाललाई धैर्य हुन आग्रह गरेका छन् । तत्कालीन सचिव विश्वप्रकाश पण्डितले समेत रकम हालेको उनले बताएका छन् । गुरुङको नाम दोहोर्‍याउँदै उनले भनेका छन्, ‘उसले हामीसँग लिनुपर्नेछ । उसलाई हामीले जग्गा दिनुपर्ने सर्त छ,’ शोभाकान्तले भनेका छन्, ‘मोहीका नाममा जग्गा नआए उसलाई ३ करोड ६१ लाख रुपैयाँ दिनुपर्छ । हजुरले मीनबहादुरलाई सोधे पनि हुन्छ ।’

ढकालले आफू र बालुवाटारमा लगानी गर्ने अन्य व्यक्तिले खल्तीको पैसा नहालेको भन्दै मुनाफाको रकम लगानी गरेकाले चिन्ता नलिन आग्रह गरेका छन् । खल्तीको रकम नपरेकाले हतार गर्न नहुने भन्दै उनले आफूलाई भित्रबाट ‘जसरी पनि सम्भावना छ भन्ने सूचना रहेको’ बताएका छन् ।

‘विश्वास नलागे पशुपतिको पानीमा गएर हात चोपेर सबै कुरा भन्छु,’ उनले आश्वस्त पार्न भनेका छन् । कुराकानीका सिलसिलामा उनले भाटभटेनी सञ्चालक गुरुङले ब्रिटिस काउन्सिलको कार्यालय रहेको फोहोरा दरबारको जग्गासमेत दामोदरशमशेरबाट सस्तोमा मिलाएको खुलाएका छन् ।

तीन परिवारको २५ रोपनी

बालुवाटारबाट व्यक्तिका नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित छ । ढकाल, सुवेदी, गुरुङ र उनीहरूकै परिवारका नाममा झन्डै २५ रोपनी जग्गा फेला परेको हो । व्यापारी गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गरेका छन् । ढकाल र सुवेदीको संयुक्त नाममा ९ कित्ता जग्गा छ जुन ३ रोपनी ७ आना हो । सरला गुरुङ, उमाकुमारी ढकाल र माधवी सुवेदीका नाममा तीन कित्ता छ । उमाकुमारी र माधवीका नाममा थप ३ कित्ता जग्गा पनि छ । उनीहरू ढकाल, सुवेदी र गुरुङ परिवारकै सदस्य हुन् ।

मीनबहादुरका नाममा ३ कित्ता जग्गा छ, जसको क्षेत्रफल २४२ दशमलव ४३ वर्गमिटर छ । यो करिब ८ आना हुन्छ । मीनबहादुरका छोरा कल्याण गुरुङका नाममा करिब साढे ५२ आना छ । अर्को कित्तामा ३ जना मिलेर झन्डै १४ आना जग्गा आफ्नो नाममा बनाएका छन् । यिनीहरूले नै आफ्नो र परिवारका नाममा भएको ५ कित्ता जग्गा गैरआवासीय नेपाली संघलाई बेचेका थिए । उक्त जग्गाको क्षेत्रफल ३ रोपनी १ आना छ ।

नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनका नाममा दुई कित्ताको करिब करिब आठ आना छ । यो जग्गा मिलेमतोबाटै ढकालले पौडेललाई दिएको भनी आलोचना हुँदै आएको छ ।

शोभाकान्त र उमा ढकालका नाममा ५ कित्ता छ, जुन करिब २२ आना हो । ढकालका छोरा विवेकका नाममा ३ कित्ता जग्गा छ । त्यसको क्षेत्रफल झन्डै दुई रोपनी छ ।

अर्को ३ कित्ताको सात आना पनि शोभाकान्तकै नाममा छ । मीनबहादुरले भाटभटेनी डेभलपमेन्ट प्रालिका नाममा १० कित्ता राखेका छन् जुन ३ रोपनी ९ आना छ । सरला गुरुङका नाममा ४ रोपनी १४ आना जग्गा छ । सरला पनि मीनबहादुरकै परिवारकी सदस्य हुन् ।

प्रकाशित : असार २०, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?