प्रधानमन्त्री रोजगार कार्यक्रम : झार उखेल्दै, बजेट सक्दै

प्रदेश ब्युरो

पोखरा — बेरोजगारलाई रोजगार बनाउन सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । कार्यक्रम कतै अलपत्र छ भने कतै पैसामात्रै सक्ने मेसो बनेको छ । झिनामसिना योजना छानेर कार्यक्रमले ‘असारे विकास’ को झल्को दिएको छ ।

सरकारले नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न भन्दै फागुन १ मा कार्यक्रम उद्घाटन गरेको थियो ।

म्याग्दीको बेनी नगरपालिकामा मेयर र कार्यपालिका सदस्यबीच विवादले २ महिनादेखि कार्यपालिका बैठक बस्न नसक्दा कार्यक्रमको ४७ लाख रुपैयाँ कार्यान्वयनका लागि स्वीकृत भएको छैन ।


‘नगरप्रमुखले नगर कार्यपालिका मात्र होइन, नगरसभासमेत नबोलाउँदा आव ०७६/०७७ को बजेट पनि ल्याउन सकेनौं’ उपमेयर सन्जु बरुवालले भनिन्, ‘रोजगार कार्यक्रम अलपत्र परेको छ । काम गर्ने क्षमता हुँदाहुँदै बजेट फिर्ता गर्नुपर्ने अवस्था आयो ।’


धौलागिरी गाउँपालिकामा खटाइएका रोजगार संयोजक कार्यस्थल नपुग्दा काम अघि बढेको छैन । गाउँपालिकाले केही रकमले ग्याबिनजाली, सिमेन्टसमेतका निर्माण सामग्री खरिद गरेर राखेको छ । रोजगार संयोजक कृष्ण गुरुङले काम छाडेपछि अन्नपूर्ण गाउँपालिकामा पनि कार्यक्रम अलपत्र परेको छ ।


प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले योजना छनोट भए पनि कार्यक्रम हेर्ने कर्मचारी नहुँदा समस्या आएको र असारभित्र कर्मचारी नियुक्त गरी काम गर्न असम्भव भएको बताए । ‘बेरोजगार युवाको तथ्यांक संकलन गरेका छौं । कार्यक्रम सुरु गर्न प्रशासनिक तथा जनप्रतिनिधि दुवै पक्षबाट तत्परता नहुँदा म हिँडेँ,’ राजीनामा दिएपछि गुरुङले भने, ‘कामको सुरुमै अल्झन आयो ।’


मालिका र रघुगंगा गाउँपालिकाले भने कार्यक्रम सुरु गरेका छन् । मालिकामा ३० लाख बजेट रहेको र गाउँपालिकाले योजना छानेर बेरोजगारलाई परिचालन गरी स्थानीय दररेटअनुसार ज्याला दिइने प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम शर्माले बताए । रघुगंगाले कार्यक्रमका लागि आएको बजेटमा २५ प्रतिशत समपूरक कोषबाट लागत साझेदारी/सहलगानी थपेर कार्यक्रम सञ्चालन गरेको छ ।


उसले पदमार्ग निर्माण, बाढी पहिरोबाट बस्ती संरक्षण गर्न तटबन्ध, सडक मर्मत, खेलमैदान निर्माणमा खर्च गरेको छ । ‘माग र प्राथमिकताका आधारमा योजना छनोट गरी प्राविधिकको डिजाइन इस्टिमेटअनुसार काम गर्न लगाइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने । मंगला गाउँपालिकाले योजना छनोट गरे पनि कार्यक्रम सुरु गरेको छैन ।


झिनामसिना योजना

गोरखाका स्थानीय तहका विभिन्न वडामा यतिखेर पहेंलो कपडा लगाएर झिनामसिना काममा खटिएको देख्न पाइन्छ । केही जनप्रतिनिधि पनि पहेंलो लुगामा सजिएर काममा लागेका थिए । बाहिर चर्चा गरेअनुसार काम भने भएको छैन । केही स्थानमा झार उखेल्ने, सरसफाइ, नाला सफाइजस्ता काममा खटाइएको छ ।


दीर्घकालीन फाइदा पुग्ने योजना कमै छन् । काम पनि असार लागेपछि मात्रै थालिएको छ । कर्मचारी र जनप्रतिनिधि आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित बजेट सक्न कार्यक्रम गर्ने बाध्यतामा फसेको बताउँछन् ।


बिहीबार गोरखा नगरपालिका–६ रानीपोखरी परिसरमा रोजगारी पाएकाहरू झार उखाल्दै थिए । स्थानीय भने साउनमा फेरि झार उम्रने भएकाले निरर्थक काममा समय व्यतित भएको भन्दै थिए । गोरखा नगरपालिकामा आइतबारबाट कार्यक्रम सुरु भएको हो । वडा तहबाट आएका योजना छनोट गरी काममा लगाइएको रोजगार संयोजक गीता बस्नेतले बताइन् । गोरखा नगरमा ४९ लाख बजेट आएको छ । सडक मर्मत, गोरेटो बाटो निर्माण प्राथमिकतामा छन् ।

धार्चे र चुमनुब्री गाउँपालिकामा रोजगार संयोजकै नआउँदा कार्यक्रम प्रभावित बनेको छ । अन्य स्थानीय तहमा आर्थिक वर्ष सकिनै लाग्दा काम सुरु भएको छ । भीमसेन थापा गाउँपालिकामा शुक्रबार कार्यक्रम थाल्ने तयारी छ । संयोजक जीवन पौडेलले सडक स्तरोन्नति, घोरेटो बाटो, नाला खन्ने योजना प्राथमिकतामा रहेको बताए ।


छनोट भएका २ सय ५२ जनाले १५ दिनको पारिश्रमिक पाउँछन् । ‘असारभित्र कार्यक्रम सक्नैपर्ने भएकाले तयारीमा छौं,’ उनले भने । सिरानचोक गाउँपालिकामा असार ५ बाट कार्यक्रम सुरु भएको संयोजक उत्तम वस्तीले बताए । आरुघाट गाउँपालिकामा चौतारो मर्मतलाई प्राथमिकता दिइएको छ ।


पालुङटार नगरपालिका, अजिरकोट, बारपाक सुलिकोटलगायत अन्य गाउँपालिकाले पनि सडक मर्मत, नाली व्यवस्थापन, सिँढी निर्माणजस्ता कामलाई प्राथमिकतामा राखेका छन् । कार्यक्रम सञ्चालन गर्दा जति चर्चा भयो, त्यसअनुरूप काम हुन नसकेको प्राध्यापक यदु अधिकारी बताउँछन् । ‘फोकटमा एकमुठी चिउरा बाँडेझैं भएको छ कार्यक्रम,’ उनले भने, ‘वास्तविक बेरोजगार पत्ता लगाएर सीपमूलक तालिम दिन सकेको भए हुन्थ्यो ।’ छोटो समयमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गर्न समस्या परेको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।

स्याङ्जाका कतिपय वडामा योजना छनोट भएकै छैनन् । छनोटमा परेका युवालाई के काम दिने भन्ने टुंगो नलाग्दा कार्यक्रमै निष्प्रभावी देखिएको छ । बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा कार्यक्रम सुरु गरिएको कर्मचारीले बताएका छन् । असार मसान्तसम्म सक्नुपर्ने भन्दै उनीहरू हतारहतार काम गरिरहेका छन् ।


५ नगर र ६ वटा गाउँपालिका रहेको स्याङ्जामा ११ वटै पालिकामा बजेट विनियोजन भएको छ । फेदीखोला गाउँपालिकामा कार्यक्रम सञ्चालनका लागि ६ लाख रुपैयाँ आएको छ । जेठको अन्तिममा आएको बजेट कार्यान्वयनका लागि समस्या भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘सदुपयोग गरेका छौं तर पनि व्यवस्थापनमा समस्या छ,’ उनले भने, ‘कार्यक्रम उत्कृष्ट भए पनि समय नभएका कारण खर्चमा मात्र सीमित हुने भयो ।’


वालिङ नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुचारु गरेको छ । २३ लाख रुपैयाँ विनियोजन भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले सडक बनाउने काममा नै कामदार खटाइएको बताए । उनका अनुसार दक्ष कामदारलाई दैनिक प्रतिव्यक्ति ९५० रुपैयाँ दिइने गरेको छ भने अर्धदक्षलाई ७ सय र अदक्षलाई ५ सय २५ रुपैयाँ ज्याला दिइएको छ ।


कार्यक्रम आवश्यक भए पनि परिचालन गर्न नसक्दासम्म प्रभावकारी नहुने उनको भनाइ छ । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये गैंडाकोट नगरपालिकाले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम थालेर पदमार्ग निर्माणको काम सुरु गरेको छ । त्यसैगरी ऐतिहासिक मणिमुकुन्द दरबार जाने सडकको काम पनि थालेको छ । कावासोती नगरपालिकामा २ हजार २ सय ९९ ले बेरोजगार फारम भरेका छन् ।


लमजुङमा कार्यक्रमका लागि २ करोड रुपैयाँभन्दा बढी भित्रिएको छ । यसबाट ११ हजार ३ सय ६३ जनालाई रोजगारी दिइएको छ । ४ नगरपालिका र ४ गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक वर्षको अन्त्यमा गरिएको कार्यक्रमले बेंसीसहर नगरपालिकाका ११ वटै वडामा २ हजार २ सय ९८ जनाले रोजगारी पाएको रोजगार संयोजक घनश्याम तिवारीले बताए ।


३८ लाख रुपैयाँको बजेट रहेकोमा प्रत्येक वडालाई ३ लाख रुपैयाँका दरले विनियोजन गरिएको उनले जानकारी दिए । अन्य स्थानीय तहले पनि वडापिच्छे योजना छनोट गरी बजेट पठाएका छन् । दूधपोखरी गाउँपालिकामा भने कार्यक्रम संयोजक सोम मुडबरी एक दिन हाजिर गरेर फर्केपछि संयोजकबिनै कार्यक्रम थालिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताए ।


रोजगार न भत्ता

कार्यक्रममा फारम भरेका बागलुङ नगरपालिका–१३ का सोवर्णे सार्कीले बेरोजगार भत्ता पाउने आस मारे । सार्कीले ७ जनाको परिवार पाल्न दैनिक मजदुरी नगरी सुख छैन । निरन्तर काम नपाउँदा परिवार पाल्न उनलाई सास्ती छ । बेरोजगार भत्ता पाइन्छ भनेर फारम भरेपछि उनले डेढ महिनासम्म सरकारी बजेटको बाटो हेरे ।


अहिलेसम्म आउने छाँट नदेखेर फेरि मजदुरीमा हिंडेको उनले गुनासो गरे । ‘सके रोजगारी दिन्छौं, नसके भत्ता दिन्छौं भनेर फारम भरें,’ उनले भने, ‘अहिलेसम्म केही भएन ।’ सरकारी पैसा खान नलेखेको उनले टिप्पणी गरे । यो समस्या उनकै छिमेकी टुल्की सार्कीको पनि छ । मजदुरीमा नगएको दिन हातमुख जोरिँदैन । ‘जे–जस्तो भए पनि काम पाइन्छ भने गर्नुपर्ला भनेर फारम भरेकी हुँ’ उनले भनिन्, ‘काम नभए भत्ता पाइन्छ रे ।’


भत्ता पाए परिवार पाल्न सकिएला भन्ने उनले आस राखेकी छन् । नगरभित्र मात्र यसरी आसमा बसेका २ हजार ५ सय जनाले फारम भरेका छन् । कतिपयले बेरोजगार भएकाले काम र दामको आस गरेको व्यहोरा लेखेको बागलुङ नगरपालिकाकी रोजगार संयोजक सविता शर्माले बताइन् ।


बागलुङ नगरपालिकामा अझै निर्देशक समितिले काम थालेको छैन । ‘तथ्यांक संकलन भएको छ, समितिले अन्तिम निष्कर्ष निकालेर कार्यपालिकाबाट पास भएपछि मात्र कार्यान्वयन गर्न सकिन्छ,’ शर्माले भनिन्, ‘ढिला भइसकेको छ, रकम खर्चन नसकिने खतरा बढेको छ ।’


समिति र कार्यपालिकाले समयमा निर्णय नगर्दा संयोजकको तलबसमेत रोकिएको उनले टिप्पणी गरिन् । चालु वर्षका लागि बागलुङ नगरपालिकामा मात्र ६० लाख बजेट विनियोजन छ । उक्त रकम खर्च गर्न नसके फिर्ता हुन्छ ।


घनश्याम खड्का (म्याग्दी), हरिराम उप्रेती (गोरखा), प्रतीक्षा काफ्ले (स्याङजा), नवीन पौडेल (नवलपुर), आश गुरुङ (लमजुङ) र प्रकाश बराल (बागलुङ) प्रकाशित : असार १३, २०७६ ०८:३४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामुदायिकबाट उत्कृष्ट

अंग्रेजी माध्यममा पढाइ सुरु गरेका सामुदायिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा निकालेका छन् ।
प्रदेश ब्युरो

बुटवल — बुटवलको कालिका मानव ज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी छन् । राम्रो अक्षरमा सिर्जनात्मक रूपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘सामान्यज्ञानदेखि लेखनकलामा अब्बल थिइन्,’ उनले भने, ‘सानो कुरामा पनि हेलचेक्र्याइँ गर्दिनथिइन् । असाध्यै मिहिनेत गर्थिन् ।’

सविना ४ जीपीए आउने आशामा थिइन् तर ढुक्क थिइनन् । सैनामैना नगरपालिकामा कृषि अधिकृत आमा सिर्जना घर फर्केकी थिइनन् । सूर्य लाइफ इन्स्योरेन्सका जागिरे श्यामप्रकाश बाबु दिउँसै घर आएका थिए । नतिजा आएपछि इन्टरनेटमा बाबुले नतिजा थाहा पाए ।

‘आफ्नै शैलीमा सिर्जनशील उत्तर लेख्ने बानीकै कारण सानो कक्षामा म प्रथम भइनँ । अहिले पनि त्यस्तै होला कि भन्ने डर थियो,’ उनले भनिन्, ‘धन्न त्यस्तो भएन भनेर खुसीले भक्कानिएँ ।’ विद्यालयमा कोचिङ क्लास हुँदैनथ्यो तर कक्षा १० मा सार्वजनिक बिदाका दिनसमेत पढाइ हुन्थ्यो । सविना विद्यालय समयबाहेक दैनिक ८ घण्टा पढ्थिन् । लेखेर अभ्यास गर्थिन् ।

सविनाको रेडियोलोजिस्ट बन्ने इच्छा छ । रोग पत्ता लगाउन रेडियोलोजिस्टको ठूलो भूमिका भएकाले यही पढ्ने इच्छा लागेको उनले बताइन् । कक्षा ११ भने कालिका माविमै पढ्ने उनको भनाइ छ । सविनाले कक्षा ८ देखि साविक कालिका माविमा पढेकी हुन् । यो उनको आठौं विद्यालय हो । आमा सिर्जना कृषिकी जागिरे हुन् ।

उनको जागिर सरुवा जहाँ हुन्छ, सविनाले त्यतैत्यतै पढिन् । कालिका मानव ज्ञान माविबाट ३ सय ६८ जनाले एसर्ईई दिएका थिए । यसमध्ये ४८ जनाले ३.८ भन्दा माथि ल्याएका छन् । ए प्लस ल्याउने १ सय १९ र ए ल्याउने १ सय २६ जना छन् ।

बुटवलको कान्ति माविले पनि उत्कृष्ट नतिजा ल्याएको छ । २ सय १५ जनाले एसईई दिएकामा २ जनाले ३.९५ जीपीए ल्याएका छन् । तिलोत्तमाको शान्ति नमुना माविले पनि राम्रो नतिजा ल्याएको छ । यहाँकी छात्रा दिया पाण्डेले ३.९ जीपीए ल्याएकी छन् । बुटवलको नवीन औद्योगिक कदरबहादुर माविबाट १ सय ६० जनाले एसईई दिएका थिए । त्यसमध्ये विवेकसिंह कश्यपले ३.८४ जीपीए ल्याएका छन् ।

रूपन्देहीका करिब एक दर्जन सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धी देखिएका छन् । निजी विद्यालयतर्फबाट बुटवलको न्यु होराइजन उच्च माविका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यहाँका प्रवेश आचार्य, क्षितिज डुम्रे, कपिल चौधरी, रोश्ना टण्डन, अनुष्का श्रेष्ठ, सदीक्षा कुँवर र सुयल ज्ञवालीले उक्त परिणाम ल्याएको विद्यालयले जानकारी दिएको छ । देवदह बोर्डिङ स्कुलका गौरव खनालले पनि ४ जीपीए ल्याएका छन् ।
अंग्रेजी पढाइले नतिजामा सुधार
विराटनगर– पोखरिया माविका एलिसा निरौला र अर्चना पोखरेलले एसईईमा ३ दशमलव ९५ जीपीए ल्याएका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयबाट १ सय २५ जनाले ए प्लस, ९७ जनाले ए र ७५ जनाले बी प्लस ग्रेड ल्याएका छन् ।

नेपाली माध्यमबाट परीक्षा दिएका ३ जनाले ए ग्रेड ल्याएका छन् । त्यसैगरी एभरेस्ट स्कुलका ७५ जनाले ए प्लस, ७८ जनाले ए र ११ जनाले बी प्लस ग्रेड ल्याएका छन् । सगरमाथा बोर्डिङ स्कुलबाट सय जनाले ए प्लस र ८४ जनाले ए ग्रेड ल्याएका छन् ।

अंग्रेजी माध्यमबाटै पढाइने आदर्श माविका २१ जनाले ए प्लस, ५२ जनाले ए, ४८ जनाले बी प्लस र ३३ जनाले बी ग्रेड ल्याएका छन् । सत्यनारायण माविबाट २४ ले ए प्लस, ५३ ले ए, ३८ ले बी प्लस, ८० ले बी र १३ जनाले सी प्लस ग्रेड ल्याएका छन् ।

चार जनाको ३.९५ जीपीए
चितवन– भरतपुर–१० को नारायणी नमुना माविबाट यो वर्ष एसईई परीक्षामा सामेल विद्यार्थीमध्ये चार जनाले ३.९५ जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीका अनुसार सभ्यता थपलिया, सुविनाकुमारी चौधरी, रोजसिन श्रेष्ठ र दिवस लामिछानेले ३.९५ जीपीएसहित ए प्लस ग्रेड ल्याएका हुन् ।

२८१ जनाले परीक्षा दिएकामा ८३ जना ए प्लसमा उत्तीर्ण भएका छन् । ९७ जनाले ए, ५३ जनाले बी प्लस, ४० जनाले बी र आठ जनाले सी प्लस ग्रेड ल्याएको दवाडीले जानकारी दिए । कक्षा ८, ९ र १० को पढाइ सञ्चालन गर्ने गरी २०२० सालमा नारायणी मावि स्थापना भएको थियो ।

२०२१ सालदेखि यहाँका विद्यार्थी एसएलसीमा सहभागी भइरहेका छन् । २०३८ सालको एसएलसीमा शून्य नतिजा आएको, ०५७ सालमा ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र त्यसयता २० प्रतिशत हाराहारी उत्तीर्ण हुने गरेको दवाडीले बताए । ‘०६८ सालपछाडि उत्तीर्ण दर राम्रो भएको हो, राष्ट्रियस्तरमै प्रभाव पार्ने गरेर हाम्रो नतिजा आउन थालेको छ,’ उनले भने ।

सञ्चालक समिति, शिक्षक र अभिभावको प्रयास र विद्यार्थीको मिहिनेतले नतिजामा सुधार आएको उनले बताए । ‘कमजोर विद्यार्थीलाई विशेष ख्याल गरेर पढाउने, कोचिङ कक्षा नियमित गर्नेजस्ता अभियानले नतिजा राम्रो आउन सहयोग गरेको हो,’ उनले भने ।

पाँच वर्षयता यहाँका विद्यार्थीले अंग्रेजी माध्यमबाट परीक्षा दिएका छन् । अंग्रेजी माध्यममा पढाइ र परीक्षा हुने भएका कारण धेरैको रोजाइमा यो विद्यालय पर्न थालेको छ । ‘शिक्षकलाई प्रोत्साहन र विद्यार्थीलाई रुचि जाग्ने तरिकाले पढाउने गरेका कारण हामी सफल हुँदै गएका हौं,’ उनले भने ।

सन्दीपले ल्याए ३.९ जीपीए
काभ्रे– दाप्चा माविका सन्दीप अधिकारीले ३.९ जीपीए ल्याएका छन् । ‘मिहिनेतअनुसार नतिजा आएकामा खुसी छु,’ सन्दीपले टेलिफोनमा भने, ‘घोक्नेभन्दा पनि सम्झने गर्थें, थोरै मिहिनेत गर्ने हो भने सफलता हासिल हुने रहेछ ।’ सन्दीपले डाक्टर बन्ने सपना रहेको बताएका छन् ।

‘अब विज्ञान विषय लिएर प्लस टु पढ्छु, त्यसपछि एमबीबीएस अध्ययन गर्ने सोचमा छु ।’ सन्दीपसँगै परीक्षामा सहभागी उनका दाजु कुलदीपले ३ दशमलव २५ जीपीए प्राप्त गरेका छन् । अधिकारीका बाबु किशोर र आमा नीता दुवै सोही विद्यालयमा पढाउँछन् । त्यसैगरी भालेश्वर मावि पनौतीकी शान्तिकुमारी तामाङले ३ दशमलव ८५ जीपीए ल्याएकी छन् ।

४ दृष्टिविहीन उत्तीर्ण
सञ्जीवनी नमुना माविबाट एसईईमा सहभागी ४ जना दृष्टिविहीन विद्यार्थी उत्तीर्ण भएका छन् । सहयोगीमार्फत परीक्षा दिएका पासाङ लामा र बाबु लामाले ३ दशमलव ३ जीपीए, प्रवीण स्याङतानले ३ दशमलव २५ र आंशिक दृष्टिविहीन अजितकुमार ठाकुरले २ दशमलव ८५ जीपीए प्राप्त गरेको प्रधानाध्यापक सानुकाजी महतले जानकारी दिए ।

डाक्टर बन्ने लक्ष्य
मकवानपुर– हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट यस वर्षको एसईई परीक्षामा सहभागी सुधीर सर्राफले ३ दशमलव ९५ जीपीए ल्याएका छन् ।

रौतहटको माधवनारायण नगरपालिका–१ का उनले अंग्रेजी माध्यमबाट परीक्षा दिएका थिए । ‘परीक्षा राम्रो भएको थियो, सोचेअनुसारको नतिजा आएन,’ उनले भने । डाक्टर बन्ने लक्ष्य बोकेका उनी पढाइको समयबाट केही फुर्सद भएको खण्डमा कहिलेकाहीं क्रिकेट खेल्ने गरेको बताउँछन् । उनका बुबा उमेशप्रसाद सर्राफ सुनचाँदी व्यवसायी हुन् ।
प्रधानाध्यापक वीरवंश बैठाले उनी मिहिनेती विद्यार्थी भएको बताए । यो विद्यालयबाट २ सय ३० जनाले परीक्षा दिएका थिए । तीमध्ये ए प्लस १२ जना, ए ५३ जना, बी प्लस ६१, बी ६७, सी प्लस ३६ जना र सी ग्रेड १ जनाले ल्याएका छन् । विद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : असार १३, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
थप केही समाचारबाट
×