१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ऊर्जामन्त्रीले राजदूतलाई सोधे, 'चिनियाँ कम्पनीले नेपालमा किन काम ढिला गर्छन् ?

काठमाडौँ — चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ कम्पनीले काममा ढिलाई गरेको भन्दै समन्वयको लागि पहल गर्न आग्रह गरेका छन् । ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री पुनले अरु देशमा काम गर्ने चिनियाँ कम्पनीले नेपालमा काम नगर्नुको कारण राजदूतसँग जिज्ञासा राखेका थिए ।

ऊर्जामन्त्रीले राजदूतलाई सोधे, 'चिनियाँ कम्पनीले नेपालमा किन काम ढिला गर्छन् ?

‘चिनियाँ कम्पनीले अन्य देशमा राम्रो काम गरिरहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ ?,’ राजदूतसँग मन्त्री पुनले राखेको जिज्ञासा उद्धृत गर्दै मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कारणले काममा ढिलाई भएको हो भने संयन्त्र सुधार्छौं ।’


जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीको काममा भएको समस्याबारे अध्ययन गरिरहेको बताइन् । चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली थ्री ए र कुलेखानी तेस्रो आयोजना सम्पन्न हुने तरखरमा रहेको भए पनि चिनियाँ कम्पनीले काममा ढिलाइ गरिरहेका छन् । त्रिशूली थ्रीको पहिलो ३० यूनिटबाट उत्पादन थालिए पनि दोस्रो यूनिटको काम भने सुस्त छ ।


मन्त्री पुनले राजदूत यान्छीसँग यी आयोजनाको काम सम्पन्न गर्नको लागि चिनियाँ कम्पनीसँग समन्वय गरिदिन आग्रह गरेको मन्त्री पुनको सचिवालयद्वारा जारी विज्ञप्तिमा छ । मन्त्री पुनले दूधकोसी जलविद्युत् आयोजनामा लगानी जुटाउन सहयोगको लागि पनि राजदूसँग आग्रह गरे ।


दूधकोसी जलविद्युत् आयोजनामा विश्व बैंकले ५ सय मिलियन डलर लगानी गर्ने भन्दै उनले अपुग हुने २ खर्ब जुटाउन सहयोग मागेका हुन् । नेपालको कम्तीमा २४ वटा जलविद्युत् आयोजनामा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेका छन् ।


चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा प्रवेशाज्ञा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण लगायतका समस्या रहेको चिनियाँ राजदूतको भनाइ थियो ।

प्रकाशित : असार १०, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?