१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सर्लाही घटनाले पञ्चायतकालको झझल्को दियो : जनार्दन शर्मा

काठमाडौँ — पूर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माले सर्लाही घटनाले पञ्चायतकालको झझल्को दिएको बताएका छन् ।  आइतबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गत असार ५ गते सर्लाहीको लालबन्दीमा 'प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको' भन्ने सरकारी पक्षको भनाइ सही नभएको जनाउँदै भने, 'उक्त घटनाले पञ्चायती बर्बरताको झझल्को दिएको छ ।'

सर्लाही घटनाले पञ्चायतकालको झझल्को दियो : जनार्दन शर्मा

उनले यस विषयमा गृहमन्त्रीले समितिमा आएर स्पष्ट पार्नुपर्ने बताए । उनले भने, 'हातखुट्टा भाँचेर मारिएको भन्ने कुरा बाहिर आएको छ । तुरुन्तै गृहमन्त्रीलाई बोलाएर यथार्थ कुरा के हो हामीलाई जानकारी गराउनुपर्‍यो ।'


समाचारमा आएजस्तो हातखुट्टा भाँचेर मारिएको हो भने यस्तो काम राज्यले गर्न नपाउने शर्माको भनाइ थियो ।


समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबाहदुर थापालाई भोलि बैठकमा बोलाइने जानकारी दिइन् ।


यसैबीच बैठकमा आज दैवी प्रकोपबारे छलफल गर्ने कार्यतालिका भएपनि भोलि गृहमन्त्री बैठकमा बोलाइने भन्दै यसको छलफल भोलि नै सारिएको छ ।


छलफलका क्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा समिति सदस्य दीलेन्द्रप्रसाद बडूले सर्लाही घटना, विधेयक लगायतका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने धारणा राखेका थिए । उनले भने, 'सरकारले गरेको काम र प्रस्तुत गरेको विधेयकबारे देशैभरी विरोध भइरहेको छ । तर सरकारले अनावश्यक विरोध भयो भन्ने बुझेको छ । त्यसैले विस्तृतमा छलफल गर्न प्रधानमन्त्री नै बोलाऔं ।'


तर सभापति श्रेष्ठले अहिले गृमन्त्रीलाई बोलाइने र आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाइने जवाफ दिइन् ।

प्रकाशित : असार ८, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?