१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चन्द जिल्ला इन्चार्ज पौडेललाई पक्रेर मारिएको परिवारको दाबी 

ओमप्रकाश ठाकुर

(सर्लाही) — नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा बिहीबार मारिएको नभई हत्या भएको दाबी आफन्तले गरेका छन् । लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

चन्द जिल्ला इन्चार्ज पौडेललाई पक्रेर मारिएको परिवारको दाबी 

४७ वर्षीय छोरा गुमाएका वाग्मती नगरपालिका–२ धरहराका ७२ वर्षीय खिलकराज पौडेल गहिरो शोकमा छन् । ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ उनले भने, ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका पक्षधरले आफ्ना कुरा राख्न पाउनुपर्ने अधिकार रहेको उनले बताए । ‘राज्यका लागि केही गलतै गरेछ भने प्रहरीले पक्राउ गरेर कानुनी कारबाही चलाउनुको साटो समातेर गोली हानेर मार्न पाइँदैन,’ उनले भने, ‘निर्दोष र निःशस्त्र मान्छे मार्ने सरकार कसरी गणतन्त्रको पहरेदार हुन सक्छ ? मुलुकमा अहिले गणतन्त्र हैन लुटतन्त्र छ, यसको विरुद्धमा आवाज उठाउँदा छोरालाई नेकपाको केही नेताको उक्साहटमा मार्न लगाइएको छ ।’


कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् । निष्पक्ष छानबिनको ग्यारेन्टी नभएसम्म शव नबुझ्ने उनले बताए । ‘निःशस्त्र व्यक्तिलाई हातमा पेस्तोल थमाइएको छ । प्रहरीले दोहोरो भिडन्तको नाममा दाजुलाई हत्या गरेको छ,’ उनले भने, ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर आउनुपर्छ ।’ पौडेलको घरमा शुक्रबार बिहानैदेखि आफन्त र स्थानीयको भीड लागेको छ । राज्यप्रति आक्रोशित देखिएका उपस्थित सबैले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरी कारबाहीमा कुमारको मृत्यु भएको भन्ने खबर सुनेयता पौडेल परिवार शोकमग्न छ । पिता खिलकराज, आमा दुर्गादेवी, पत्नी कला एवं छोराछोरी कुशल र कामना एवं भाइ हरिकृष्ण शोकमा डुबेका छन् । कला पटकपटक मूर्च्छित हुँदै होसमा फिर्दै गरिरहेको स्थानीय शीतल बोहराले बताए ।


गस्तीमा जाँदै गरेको टोलीमाथि दुईवटा मोटरसाइकलमा रहेका चार जनाको समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको भनाइ जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीतसिंह राठौरको छ । पौडेलको मृत्यु हुनुअघि प्रहरी र चन्द समूहका कार्यकर्ताबीच दोहोरो हानाहान भएको र त्यसक्रममा तीन जना भाग्न सफल भएको दाबी प्रहरीको छ । घटनास्थलबाट विस्फोटक पदार्थसहित एक/एकवटा पेस्तोल र कटुवा, त्यसमा प्रयोग हुने गोलीसँगै नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको २ सयवटा परिचयपत्र, ना२२प ६४ नम्बरको पल्सर मोटरसाइकल र अर्को अनटेस्ट एफजेड मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ । पौडेलविरुद्ध संगठित अपराध मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रका व्यापारी, व्यवसायी र सर्वसाधारणसँग जबर्जस्ती चन्दा माग्ने र नदिए मार्ने धम्की दिंदै आएको प्रहरीले जनाएको छ ।


प्रहरीले दोहोरो भिडन्तका क्रममा जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको भने पनि घटना भएकै हो भन्ने आधार शंकास्पद देखिएको छ । दोहोरो भिडन्त भनिए पनि घटनाका बेला खटिएका भनिएको टोलीका प्रहरीलाई कतै पनि चोट लागेको छैन । मृतक पौडेलको हात र कञ्चटमा एक/एक गोली लागेको छ । पूर्वपश्चिम राजमार्गको नवलपुर चोकबाट झन्डै ३ किलोमिटर उत्तरमा रहेको घटनास्थल भनिएको ठाउँमा बाख्रा चराइरहेका स्थानीय महिलाहरूले त्यस दिन गोली चलेको आवाज नसुनेको बताएका छन् । ‘दोहोरो भिडन्त भए त बररर गोली चलेको आवाज सुन्नुपर्ने हो । त्यस्तो कुनै आवाज सुनिएन,’ एक महिलाले भनिन् ।


पौडेलको शव शुक्रबार पनि मलंगवास्थित जिल्ला अस्पतालमै छ । पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारका सदस्य सम्पर्कमा नआएको बताइरहँदा आफन्तले अस्पताल जाँदा प्रहरीले लास हेर्नसम्म नदिएको र कुनै खबरसमेत नगरेको दाबी गरेका छन् । यता चन्द समूहले आफ्ना निःशस्त्र कार्यकर्तालाई काल्पनिक भिडन्तको नाममा गैरन्यायिक हत्या गरिएको दाबी गरेको छ । घटनाबारे निष्पक्ष छानबिन गर्न र त्यसका लागि सहयोग गर्न सरोकारवालासँग अनुरोधसमेत गरेको छ ।


प्रकाशित : असार ७, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?