यूएस बंगला जहाज दुर्घटनाको दोष पाइलटलाई

क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख

माघ १५, २०७५

सुरज कुँवर

काठमाडौँ — चालकदलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको यूएस बंगला विमान दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले उक्त घटना हुनुमा मुख्य कारण विमानकै कमान्डर पाइलट अविद सुल्तानलाई दोषी देखाएको छ ।

२ घण्टा लामो उडानलाई अवतरण गराउने क्रममा फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको उक्त दुर्घटनामा विमानका ५२ वर्षीय क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख छ ।


बमबार्डियर कम्पनीको क्यू–फोर–हन्ड्रेड विमानका प्रशिक्षक पाइलटसमेत रहेका उनलाई आफ्नै महिला सहकर्मीले आत्मसम्मानमाथि प्रश्न गरेकाले उनी दु:खी रहेको उल्लेख गरिएको छ । यो कुरा उनले ककपिटमा उडानका क्रममा छेउको कोपाइलट सिटमा बसेकी सहकर्मी पृथुला रसिदलाई सुनाएको अडियो दुर्घटना जाँच आयोगका सदस्यहरूले सुनेका छन् । उनकी सहकर्मीले बंगलादेशमै छँदा उनको क्षमता तथा प्रतिष्ठामा प्रश्न गरेको संवाद ककपिटमा उनलाई विचलित बनाउने विषय बनेको छ । 


६७ यात्रु बोकेर ढाकाबाट आएको उक्त उडानमा क्याप्टेनले इन–रुटमा रहेका बेला तनाव दबाउन धूमपान पनि गरेको भेटिएको छ । ‘विमानमा धूमपान गर्न पाइँदैन । यूएस बंगलामा पनि धूमपान निषेधको नीति थियो । उक्त उडानमा पाइलटले धूमपान गरेका थिए,’ ६ सदस्यीय आयोगले ककपिट भ्वाइस रेकर्डर सुनेर प्रतिवेदनमा लेखेको छ । यसलाई उडान सुरक्षा उल्लंघन गरेको मानिन्छ ।


कम्पनीले भराउने ‘मेडिकल सेल्फ–डिक्लेरेसन’ फारममा उनले आफ्नो धूमपान गर्ने बानीबारे नखुलाएको र पछिल्लो समयको मानसिक तनावबारे पनि ढाकछोप गरेको भनिएको छ । बंगलादेशको एयरफोर्सबाट उडानयात्रा थालेका क्याप्टेनलाइ डिप्रेसन देखिएपछि सन् १९९३ मा निकाला गरिएको देखिएको छ । यो घटना भएको नौ वर्षपछि उनी पुन: मनोचिकित्सकको मेडिकल जाँचबाट उडानका लागि योग्य बनेर फर्किएका देखिन्छन् । एयरफोर्समा उनले १० वर्ष फाइटर वायुयानलगायतका विमान उडाएका थिए । तीन वर्षअघि मात्रै यूएस बंगलामा छिरेका क्याप्टेनले काठमाडौंमा दुर्घटनामा परेको विमानमा मात्रै १७ सय ९३ घन्टा बिताएको रेकर्ड छ ।   


२२ नेपाली २८ बंगाली र १ चिनियाँ नागरिकको मृत्यु भएको उक्त घटनामा विमानमा भने कुनै खराबी नभएको आयोगले जनाएको छ । विमान उडानयोग्य र नियमअनुसार नियमित मर्मत भएको भनिएको छ । ‘विमानको कुनै प्राविधिक कारणले उक्त दुर्घटना हुनु गएको प्रमाण भेटिएको छैन,’ आइतबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ । चालकदलका दुवै सदस्य उक्त उडानका लागि योग्य भए पनि क्याप्टेन सुल्तान दुर्घटना भएको अघिल्लो रात पर्याप्त नसुतेको पनि भेटिएको छ । 


जागिरे जीवनमा ५ प्रकारका विमानमा ५५ सय घण्टा आकाशमा बिताएका क्याप्टेन सुल्तान काठमाडौंमा थुप्रै पटक आए पनि २५ वर्षीया कोपाइलट पृथुलाको पहिलो उडान थियो । यो विमान कोटेश्वरतर्फको आकाशबाट प्रवेश गर्ने विन्दु (उड्डयन भाषामा जिरो–टु) बाट अवतरण गर्नुपर्ने थियो । त्यस दिन यो विमान ललितपुरबाट भक्तपुर हुँदै उत्तरी काठमाडौंतर्फ लागेको थियो ।


काठमाडौं विमानस्थलमा अवतरण गर्न उत्तरतर्फबाट पनि टु–जिरो नामको विन्दुबाट ‘प्रयास’ गरेका थिए । यो विन्दुबाट अवतरण गर्न हरेक चालकले तालिम लिएकै हुनुपर्छ । प्रतिवेदनले यस विमानकी कोपाइलटले यो विन्दुबाट हरेर अवतरण गर्ने तालिम नलिएको औंल्याएको छ ।


दक्षता नभएकी पाइलटले विमान उडाइरहँदा क्याप्टेन सुल्तान भने ककपिट अनुशासन उल्लंघन गर्दै लामो–लामो संवादमा व्यस्त हुने गरेको देखिएको छ । विमान उडाउँदा र अवतरणमा क्याप्टेनले सम्हाल्नुपर्ने वा कोपाइलटलाई सघाउनुपर्ने हुन्छ । ‘कोपाइलटलाई कुनै विषय सिकाउँदा शान्त र व्यावसायिक देखिएका छन् तर अन्य विषयमा कुरा गर्दा भावनात्मक रूपमा विक्षिप्त देखिन्छन् । विमान उडाउनका क्रममा मानक सञ्चालन प्रक्रिया (एसओपी) हुन्छन् । यो उडानमा यस्ता थुप्रै एसओपी पालना नभए देखिएको छ ।


पूर्व सचिव यज्ञ गौतमको नेतृत्वमा गठन गरिएको आयोगले नागरिक उड्डयन प्राधिकरण, यूएस बंगला, बंगलादेशको नागरिक उड्डयन प्राधिकरणलगायतका संस्थाहरूलाई थुपै सुझाव दिएको छ । प्रतिवेदनले प्राधिकरणलाई एटीसीको दक्षता र क्षमता विकास गर्न भनेको छ । ‘त्यसताका एटीसीहरू रनवे जिरो–टु र टु–जिरो उच्चारणमा भ्रमित भएका देखिन्छन्, भलै यसले उक्त घटना हुनमा यसको प्रभाव देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

यो पनि पढौं : दोहोरिरहने दुर्घटना 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully