हिमालय ट्राभल मार्ट काठमाडौंमा हुने पक्का

कान्तिपुर संवाददाता

काठमाडौं — आगामी जुन १ देखि ४ गते काठमाडौंमा हुने बहुप्रतिक्षित पर्यटन क्षेत्र सम्बन्धित हिमालयन ट्राभल मार्टमा ६० विदेशी क्रेता र ५० बढी क्षेत्रीय विक्रेताको सहभागिता रहने भएको छ ।

आयोजकमध्येको पाटा नेपाल च्याप्टरले मार्टमा विश्व पर्यटन बजारका सशक्त टुर अपरेटरहरुलाई क्रेताको रुपमा आमन्त्रण गरीएको जनाएको छ । त्यस्तै मार्टमा हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरु पनि सहभागी हुने भएका छन् ।

च्याप्टरका अध्यक्ष सुमन पाण्डेले विहीबार पत्रकार सम्मेलनमार्फत नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्नु हिमालय ट्राभल मार्टको मुख्य उदेश्य रहेको बताए । मार्टमा पाटासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम सहभागी छन् ।

अध्यक्ष पाण्डेले सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पर्यटन बजारका रुपमा स्थापित गर्ने उदेश्यका साथ हुन लागेको मार्ट पहिलोपटक नेपालीको आफ्नै स्वामित्वमा हुन लागेको बताए । यसअघि ६ पटक यस्तै भेला आयोजना भएतापनि यसपटक हुन लागेको जस्तो थिएनन् । सोल्टी होटलमा हुने मार्टलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता बिषयहरु समाबेश गरी नेपाल लगायत बिश्व भरका बिज्ञहरुको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्सको पनि आयोजना हुने छ ।

त्यस्तै पर्यटन बजारको विकासकालागी पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रिय ब्लगर तथा मिडिया कन्फेरन्स पनि हुने आयोजकले भनेको छ । त्यसमा विश्वभरका १ सय बढी मिडिया तथा ब्लगरहरु सहभागी हुने भएका छन् । यस्को उदेश्य आगामी दिनमा ब्लगिङ्ग मार्फत नेपाली पर्यटन प्रबर्द्धनको नया आयाम सुरु हुने आयोजकले भनेको छ । यो कार्यक्रमकालागी काठमाडौं, पोखरा, चितवनका होटलहरुले करिब १२ सय कोठाहरु उपलब्ध गराउने भनेका छन् ।

आयोजकले सन २०११ को नेपाल पर्यटन बर्ष पछि नेपाली पर्यटन उद्योगमा खासै उल्लेखनीय कार्यक्रम हुन नसकेको अवस्था मार्ट आयोजना गर्न लागेको जनाएको छ । भुकम्पपछि बामे सर्दै गरेको नेपाली पर्यटन क्षेत्रलाई यस अभियानले मद्धत पुर्‍याउने नेपाली पर्यटनसँग सरोकार राख्ने संस्थाहरुले जनाएका छन् ।

प्रकाशित : वैशाख २९, २०७४ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचारमा संलग्न दुई चिनियाँलाई नेपालद्वारा सुपुर्दगी

चेतनाथ आचार्य

बेइजिङ — चीनमा आर्थिक अनियमितता गरी नेपालमा लुकेर बसेका दुईजना व्यक्तिलाई नेपाल सरकारले चीनसमक्ष सुपुर्दगी गरेको छ । विगत दुई वर्षदेखि नेपालमा लुकेर बसिरहेका उनीहरुलाई चीनको अनुरोधमा नेपाल प्रहरीले पक्रिएर चीनलाई बुझाएको हो ।

चीनबाट प्रकाशन हुने चाइना डेलीको अनलाइन संकरणमा शुक्रबार बिहान प्रकाशित समाचार अनुसार ती दुई चिनियाँ व्यक्तिले चीनमा सन् २०१३ को जनवरीदेखि धेरै ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारण चिनियाँबाट नगद सङ्कलन गरेका थिए । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन । 

पक्राउ परेकाहरुमा दिङ (चिनियाँ भाषामा तिङ) थर भएकी महिला र उनका श्रीमान् दोङ (चिनियाँ भाषामा तोङ) थर रहेका छन् । दिङ सन् २०१५ को अप्रिलमा चीनबाट भागेर नेपालमा बस्दै आएकी थिइन् । उनका श्रीमान् दोङ सन् २०१६ को जनवरीमा चीनबाट भागेर नेपाल  नेपालमा बसिरहेका थिए । उनीहरुले कति व्यक्तिबाट कति नगद संकलन गरेका थिए भन्ने कुरा चिनियाँ प्रशासनले खुलाएको छैन ।

सी चिन फिङ सत्तामा आएपछि चीनले भ्रष्टाचार नियन्त्रणमा कडा नीति लिँदै आएको छ । यसभन्दा अगाडि चीनमा भ्रष्टाचार गरी भागेर अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत युरोपमा बस्दै आएका व्यक्तिलाई चीनको अनुरोधमा सुपुर्दगी गरिँदै आएको छ । भ्रष्टाचार विरुद्धको ठूलो कारबाहीका क्रममा चीनमा भ्रष्टाचार गरी नेपालमा लुकेर बसेका व्यक्ति पक्राउ गरी चीनलाई सुपुर्दगी गरिएको यो पहिलो घटना हो । सन् २०१७ को चार महिनामा चीनमा भ्रष्टाचार गरी विभिन्न देशमा लुकेर बसेका १७० जना भ्रष्टचारीमाथि कारबाही गरिएको समाचारमा उल्लेख छ ।

सन् २०१६ मा मात्र चीनमा भ्रष्टाचार गरी भागेका ‘मष्ट वान्टेड’ अर्थात् १९ जना ठूला माछालाई चीनमा फर्काइएको छ । त्यसैगरी सन् २०१६ मा मात्र विभिन्न मुलुकमा लुकेर बसेका ९०८ चिनियाँ भ्रष्टचारीबाट २ अर्ब ३० करोड चिनियाँ युआन असुल गरिएको छ ।

चीनमा महँगो ब्याज दिने प्रलोभनमा सर्वसाधारणबाट नगद सङ्कलन गर्ने प्रचलन व्यापक रुपमा रहेको छ । सरकारले विभिन्न समयमा यस्ता कार्यलाई कारवाही गर्ने भन्दै बैंक तथा वित्तीय संस्थामा मात्र आफ्नो नगद निक्षेप गर्न सर्वसाधारणलाई आव्हान गर्दै आएको छ 

प्रकाशित : वैशाख २९, २०७४ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×