दक्षिण एसियाको ‘हव’ नै नेपाल : चिनियाँ प्राध्यापक

‘विस्तारै बोल्छौ तर काम पक्का गर्छौ’

काठमाडौं — चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबर) मार्फत नेपाल दक्षिण एसियाको ‘हव’ बन्नसक्ने अवधारणा नेपाल विज्ञ एक चिनियाँ प्राध्यापकले प्रस्तुत गरेका छन् ।

दक्षिण एसियाको ‘हव’ नै नेपाल : चिनियाँ प्राध्यापक

दक्षिण तथा पूर्वि एसिया विज्ञको रुपमा चीनमा चिनिएका सिचुवान विश्वविद्यालयका प्राध्यापक योङ थाई (दाई) ले चीनको औपचारिक सञ्जाल दक्षिण एसियासँग कमजोर रहेकाले हिमालयन मुलुक नेपालमार्फत त्यो संजाललाई अघि बढाउन सक्ने बताए । 

साढे तीन बर्ष नेपालमा नै विभिन्न पक्षको रिसर्च गरेका प्राध्यापक थाईले ओबर भनेको सडक संजालमात्र बुझ्न नहुने बताए । यो आर्थिक सहायता, सहकार्य, पूर्वाधार लगानी, जनस्तरको सहकार्य र विकास प्रक्रियालगायतका सबै पक्ष यही ओबर मार्फत नै हुनेछ ।

चीनले अघि बढाएको र करिव ८० मुलुकको सहकार्य रहेको ओबर मार्फत नेपालले मात्र होइन दक्षिण एसियाको सबै मुलुक ‘विन विन’ मा रहने उनको दावी छ । ‘ओवरको अवधारणा चीनले ल्याए पनि यसको फाइदा चीनलाईमात्र छैन । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान सहित मध्य पुर्वका मुलुकहरुसम्मलाई छ,’ प्रध्यापक दाईले भने, ‘आसियान, तथा अन्य मुलुकहरुसंग हामी जोडिसकेका छौ । अब जोडिन बाँकी दक्षिण एसिया मात्र हो । यसको लागि नेपालको भूमिका महत्वपूर्ण रहन्छ । आशा छ नेपालले ओबरलाई बुझेर अघि बढ्नेछ ।’ 

त्रिभुव विश्वविद्यालयको अन्तराष्ट्रिय सम्वन्ध तथा कूटनीति विभागले बिहीबार आयोजना गरेको अन्तरक्रियामा प्राध्यापक दाईले भने, ‘म साढे तीनबर्ष काठमाडौंमा बसे । नेपालको विभिन्न क्षेत्र घुमें । अध्ययन गरें । यहाँ विकास भइरहेको छ । यसलाई संगठित रुपमा अघि बढाउन मात्र बाँकी हो । केही विषयलाई ध्यान दिएर एकपछि अर्को गर्दै अघि बढ्ने हो भने नेपालको विकास टाढा छैन ।’ 

कूटनीतिक मामिलाबारे अध्ययन गरिररहेका विद्यार्थीहरुले नेपाल ओबरमा जादा के फाइदा होला भन्ने जिज्ञासामा उनले भने ‘नेपाल मात्र होइन यसबाट चीन पनि फाइदामा जान्छ । अवको विश्व भनेको पार्टनरशिप (संयुक्त लगानी)मा अघि बढ्ने हो । त्यसमा अडेर हामी अघि बढ्ने हो । नेपालको विकासमा लगानी आवश्यक छ । हामी लगानी गर्न खोजिरहेका छौ ।’

चीन नेपाल भारत मात्र  होइन चीन नेपाल पाकिस्तानसमेतको अवधारणा रहेको हुनाले यो अघि बढ्नेमा दुईमत छैन, उनले भने, ‘हामी त्रिपक्षीत तथा बहुपक्षीय सहकार्य र लगानीमा अघि बढेका छौ । चीनले पछि फर्कन जानेको छैन । हामी विस्तारै बोल्छौ तर काम पक्का गर्छौ ।’ नेपालको राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको गतिविधि र अन्तर्राष्ट्रिय सम्बन्धलाई चीनले आफ्ना ‘थिंक ट्यांक’मार्फत् नै नियाली रहेको अवस्थामा प्राध्यापक दाईको टोली नेपाल आएको हो । नेपाल सरकारले पनि ओबरमा सहमति जनाउने आगामी दुई साता पछि हुने सम्मेलनमा उच्चस्तरको सहभागिता गराउने तयारी अघि बढाएको छ । 

चीनको नेपाल नीति इन्गेज गराउने अवस्थामा रहेको भन्ने विषयहरुमा समेत दाईले अस्वीकार गर्दै भने, ‘नेपाल कता जाने भन्ने विषय नेपाली नेताहरुले गर्ने निर्णयमा भर गर्छ । मलाई लाग्छ नेपाली नेताले नेपालको भविष्य बुझेका छन ।’ ओबरमा नेपाल कतै नदेखिए पनि चीन र भारत सडकमा नेपाल बीचमा आउछ भने त्यस्तै चीन भारत, बंगलादेश, भुटानमा पनि नेपाल जोडिन सक्छ । 

दक्षिण एसिया नीतिमा भारतको चासो फरक र अमेरिकामा पनि नेतृत्व परिवर्तनपछि चीनले नेपाललाई केन्द्रमा राखेर यस क्षेत्रको अध्ययन अघि बढाइरहेको अवस्थामा  यस्ता थिंक ट्यांकका प्राध्यापकहरुको उपस्थिती नेपालमा बढेको हो । उक्त कार्यक्रममा विभागका संयोजक डा. खड्ग केसी, सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यात, विभाग विद्यार्थी लगायतले ओबरको विषयमा चासो ब्यक्त गरेका थिए । 

प्रकाशित : वैशाख १४, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?