भक्तपुरका छुट्टाछुटै स्थानका विभिन्न होटल र घरबाट खसेर ३ जनाकाे मृत्यु भएकाे हो ।
भक्तपुर — भक्तपुरमा एकैदिन छुट्टाछुटै स्थानमा खसेर ३ जनाकाे मृत्यु भएकाे छ ।
भक्तपुरकाे सूर्यविनायक नगरपालिकास्थित घाम्पेडाँडाकाे एक हाेटलबाट खसेर बर्दिया घर भई हाल भक्तपुरकाे सल्लाघारी बस्ने २७ वर्षीय राज कार्कीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । जन्मदिन मनाउने क्रममा कार्कीसहित साथीहरु जमघट भएकाे र झगडा भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि कार्कीका साथीहरू र झगडा छुट्टाउन जानेहरू समेत गरी २७ जनालाई नियत्रणमा लिएर साेधपुछ भइरहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।
यस्तै, भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित लुम्बिनी गेस्ट हाउसको झ्यालबाट खसेर एक १८ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेकी छन् । प्रहरीका अनुसार उनी आज बिहान करिब ३ बजे गेस्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । सख्त घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेकाे प्रहरीले जानकारी दिए ।
घटनाका सम्बन्धमा प्रहरीले सलिनासँगै गेस्ट हाउसमा रहेका चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
यस्तै, भक्तपुरकै सूर्यविनायक नगरपालिका-१ स्थित सिरुटार ७० वर्षीया चिकित्सक सरिना जाेशीकाे चार तल्ले घरबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
