ड्युटीमा फर्किए महानगर प्रहरी

काठमाडौं महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेको महानगर प्रहरी बलका प्रमुख एसएसपी विष्णुप्रसाद जोशीले जानकारी दिए ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

Metropolitan Police return to duty

काठमाडौँ — काठमाडौं उपत्यकाका सडकमा नगर प्रहरीको उपस्थिति नदेखिएको र अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापारले महानगर क्षेत्र अस्तव्यस्त बनेको भन्ने गुनासो आइहरेका बेला महानगरका प्रहरीहरु सडकमा देखिन थालेका छन् ।

काठमाडौं महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेको नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी जानकारी दिएका हुन् । अहिले न्युरोडलगायतका क्षेत्रमा नगरप्रहरी नियमित ड्युटीमा रहेको पनि उनले उल्लेख गरे ।

महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले गत बिहीबार आत्मदाहको प्रयासपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो । नेपालीको मृत्यु प्रकरणपछि सडकमा नगर प्रहरीको उपस्थिति नदेखिएको र अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापार गर्नेलगायतको समस्याले महानगर क्षेत्र अस्तव्यस्त बनेको देखिएको थियो ।

‘रिर्जभ फोर्स बाहेकका नगरप्रहरीलाई हामीले नियमित रुपमा ड्युटीमा खटाएका छौं,’ जोशीले भने, ‘हामीले अहिले नियमित रुपमा नगरप्रहरीलाई फिल्डमा परिचालन गरिसकेका छौँ ।’ 

उनले बर्खासँगै बाढी, डुबानलगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले नगर प्रहरीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको पनि जानकारी दिए ।

कान्तिपुर

Link copied successfully