मेलम्ची बन्दपछिको असर : उपत्यकावासीलाई पानी खुवाउन वैकल्पिक स्रोतको खोजी   

मेलम्चीको पानी बन्द भएपछि काठमाडौं, भक्तपुर र पाटनका बासिन्दालाई पर्याप्त पानी पुर्‍याउन केयूकेएल वैकल्पिक स्रोत खोज्न संघर्षरत छ।

असार २५, २०८३

ऋषिराम पौड्याल

Impact After Melamchi Shutdown: Search for Alternative Sources to Supply Water to Valley Residents

What you should know

काठमाडौँ — बाढीका कारण मेलम्ची बन्द भएको र पानीको पुराना स्रोत बढ्न नसकेका कारण उपत्यकावासीलाई पिउने पानी पुर्‍याउन कठिनाइ भएको छ ।

मेलम्चीबाट दैनिक आउने १७ करोड लिटर पानी पानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले वैकल्पिक स्रोतबाट व्यवस्थापन मिलाउने प्रयास भइरहेको जानकारी दिएको छ । खानेपानी वितरणको जिम्मेवारी पाएको केयूकेएलले कम वर्षा भएका कारण पानीको स्रोत नबढ्दा तत्कालका लागि केही समस्या देखिएको जनाएको छ ।  

 केयूकेएलले मेलम्ची बन्द भएको र उपत्यका वरिपरिको पानी स्रोत वृद्धि नभएका कारण वितरणमा कठिनाइ भएको जनाएको छ । केयूकेएलका अनुसार विगतका वर्षमा मेलम्ची बन्द हुँदा बागमतीलगायतका उपत्यकाका सानाठूला मुहानको पानी वितरण गरिँदै आएको थियो ।

पानी नपरेका कारण यस पटक काठमाडौं, भक्तपुर र पाटन क्षेत्रका मुहानको पानी बढ्न सकेको छैन । मेलम्ची मुहान नजिकैको रिबर्मा खोलाबाट ल्याउने पानी पनि धमिलो भएकाले सुरुङमा प्रवेश गराउन नसकेको प्राविधिकले जनाएका छन् । बाढीले सिन्धुपाल्चोकको हलम्बुस्थित मेलम्चीको मुख्य मुहानलाई असर गर्ने भएपछि गत २१ गते राति पानी बन्द गरिएको थियो ।

बाढीको असर मुख्य मुहाननजिकैको रिबर्मा खोलामा पनि परेकाले पानी सुरुङमा पटाउन नसकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए । उनले रिबर्मा खोलाको पानी सुरुङमा पठाएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याउने प्रयास भइरहेको बताए । वर्षामा स्रोत बढेका बेला उक्त खोलाबाट प्रतिदिन ५ करोड लिटर पानी सुरुङमा पठाउन सकिने उनले बताए ।   

मेलम्ची बन्द भएपछि यसबाट केयूकेएलले पानी वितरणको तालिका प्रभावित हुने जनाएको छ । केयूकेएलले दैनिक २८ करोड पानी वितरण गर्दै आएकोमा अहिले ५–६ करोडमा झरेको छ । यसबाट वितरण प्रभावित भएको हो । तर सकेसम्म तत्कालका लागि पानीको ठूलो समस्या नहुने कर्मचारीको दाबी छ ।

केयूकेएलले बागमतीको शिवपुरीस्थित मुहानको थप पानी ल्याएर सुन्दरीजलको प्रशोधन केन्द्रमा पठाउने तयारी गरेको छ । यसका लागि बागमतीको थप पानी प्रशोधन केन्द्रमा पठाउन बिहीबार ५ एमएमको अतिरिक्त पाइपको व्यवस्था गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख रामकुमार श्रेष्ठले बागमतीको थप पानी ल्याउन पाइपको व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार पानीको स्रोत बढेपछि शिवपुरीस्थित बागमतीको पानी प्रशोधन केन्द्रमा पठाइनेछ । बर्खामा दैनिक ५ करोडभन्दा बढी लिटर पानी प्रशोधन केन्द्रमा पठाउन सकिने अनुमान गरिएको छ । उनले केयूकेएल र निर्देशनालयको टोलीले शीवपुरीको ‘फिल्ड भिजिट’ गरेर थप स्रोत ल्याउने प्रयास गरिएको बताए । 

विगतमा मेलम्ची बन्द हुँदा उपत्यका वरिपरीको मुहानबाट संकलन भएको पानी वितरण गरेर आंशिक रूपमा समस्या समाधान गरिँदै आएको थियो । तर यस पटक पानी नपरेकाले स्रोत बढाउन सकेको छैन । केयूकेएलका प्रशासन तथा अर्थ विभाग प्रमुख प्रकाश राईका अनुसार अहिले पनि बागमतीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाएर वितरण गरिएको छ । तर बागमतीको पानीको मुहान नबढेका कारण पानीको स्रोत बढेको छैन ।

राईका अनुसार विगतमा पनि उपत्यकाको वरिपरि धेरै स्थानबाट ल्याइएको पानीको प्रयोग गरेर समस्या हल गर्दै आएको बताएका छन् । मेलम्ची नआएको अवस्थामा स्रोत घट्ने त निश्चित छ तर बर्सात कम भएकाले तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न कठिन भएको राईले जानकारी दिए ।

२०७८ मा असारमा आएको बाढीले मेलम्ची मुहानलाई क्षति गरेपछि बर्खामा हरेक वर्ष पानी बन्द गरिँदै आइएको छ । बाढी गएको ७ वर्ष बिते पनि मुहान व्यवस्थित बनाइएको छैन ।

मेलम्चीको दोस्रो चरणमा सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याउने योजना भए पनि कार्यान्वयनमा ढिलाइ भएको छ । मेलम्चीको पानी भने बर्सेनि ८ देखि ९ महिना मात्र काठमाडौंवासीले प्रयोग गर्दै आएका छन् । मेलम्चीको पानी २०७७ चैतमा पहिलो पटक काठमाडौंमा ल्याइएको थियो । दुई महिनामै मुहान बाढीले पुरेपछि समस्या हल हुन सकेको छैन ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully