‘समावेशी पत्रकारिता : सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रियामा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औंल्याएका हुन् ।
काठमाडौँ — आमसञ्चारमाध्यमले सामाजिक उत्तरदायित्वको रुपमा समावेशी मुद्दालाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
एकता फाउन्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘समावेशी पत्रकारिता : सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रियामा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितले समावेशी पत्रकारितामा भौतिक उपस्थिति मात्रै नभई समानताका पक्षमा प्राथमिकता दिने सम्पादकीय दृष्टिसमेत आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय पत्रकारिताको सामाजिक उत्तरदायित्व नै कमजोर हुँदै गएको भन्दै सिमान्तकृत दलित, महिला, जनजाति, लैंगिक अल्पसंख्यकलगायतका समुदायको आवाज नै आमसञ्चार हुनुपर्ने धारणा राखिन् । ‘मिडिया समाज रुपान्तरणको आधार हो,’ उपाध्यक्ष पण्डितले भनिन्, ‘आवाजविहीनको आवाज बन्नुपर्छ, त्यो मिडियाको कर्तव्य हो ।’
त्यस्तै, लेखक एवं अधिकारकर्मी जेबी विश्वकर्माले समावेशी पत्रकारिताको आवश्यकता र महत्त्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आमसञ्चारमाध्यमले समाजका पिँधमा परेका समुदायको आवाज उठाउँदा अब परम्परागत शैली फेरेर प्रभावकारी र रचनात्मक शैली अपनाउनुपर्ने बताए ।
एकता फाउन्डेशनका अध्यक्ष रामहरि शाहीले समावेशी मुद्दा कुनै निश्चित समुदायको मात्रै नभई समग्र सभ्य राष्ट्र निर्माणको आधार रहेको बताए । यसका लागि मिडियाले समाज रुपान्तरणको मिसन पत्रकारिताका रुपमा समावेशी विषयमा समाचार सम्प्रेषणमा जोड दिनुपर्ने उल्लेख गरे ।
