पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा कवि तीर्थ श्रेष्ठ मनोनीत

पर्यटनमन्त्री खड्कराज पौडेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

असार १८, २०८३

सुरज कुँवर

Poet Tirtha Shrestha nominated as member secretary of Pashupati Area Development Fund

What you should know

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा पोखरा महानगरपालिका–१ निवासी कवि तथा साहित्यकार तीर्थप्रसाद श्रेष्ठलाई मनोनीत गरेको छ । 

पर्यटनमन्त्री खड्कराज पौडेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । मन्त्रालयले गत वैशाख ३१ गते सदस्यसचिवसहित कोषका पदाधिकारी तथा सदस्यका लागि खुला आवेदन आह्वान गरेकोमा थियो। कोषको सदस्यसचिवका लागि ४ सय ७६ जनाले आवेदन दिएका थिए। आवेदनमध्येबाट सदस्यसचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनालाई मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

पोखरास्थित विन्ध्यवासिनी मन्दिरको व्यवस्थापनमा अनुभव हासिल गरेका श्रेष्ठलाई बधाई दिँदै मन्त्री पौडेलले पशुपति क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासमा प्रभावकारी नेतृत्व दिन शुभकामना व्यक्त गरे । मन्त्रालयले पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम श्रेष्ठलाई सदस्यसचिवमा मनोनयन गरेको हो। ऐनअनुसार सदस्य–सचिव कोषको प्रशासकीय प्रमुख हुने व्यवस्था छ। यद्यपि, श्रेष्ठको कार्यकाल अवधि भने मनोनयन पत्रमा उल्लेख गरिएको छैन।

ऐनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई कोषको अध्यक्ष रहने व्यवस्था गरेको छ भने अध्यक्षले मनोनीत व्यक्तिलाई सदस्यसचिव नियुक्त गर्न सक्ने प्रावधान राखेको छ । कोषको संरक्षकका रूपमा नेपालका प्रधानमन्त्री रहने व्यवस्था छ । 

यसैगरी मन्त्रालयले मिनाकुमारी श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको छ। काठमाडौंको गौरीघाट निवासी श्रेष्ठ यसअघि ललितपुर इन्जिनियरिङ कलेजको प्रशासन शाखामा कार्यरत थिइन्। त्यस्तै, कोषको सदस्यमा गंगासागर बानियाँ, रूप शाही बास्तोला, सङ्गीताकुमारी राम, केदारमान भण्डारी र राम सोवित नायकलाई मनोनयन गरिएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ। सदस्यसचिव र कोषाध्यक्षले सरकारका सचिवसरह मासिक तबलभत्ता पाउने व्यवस्था रहेको छ भने अन्य सदस्यले बैठक भत्ता मात्र पाउनेछन्।

पशुपति क्षेत्र विकास कोष सन् १९८७ (वि.सं. २०४४) मा स्थापना भएको संस्था हो । करिब २६४ हेक्टर क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रको संरक्षण, व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको समग्र विकास गर्ने जिम्मेवारी कोषको रहेको छ ।

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पशुपतिनाथ मन्दिर तथा आसपासका सम्पदाको व्यवस्थापन यही कोषमार्फत सञ्चालन हुँदै आएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully