ठमेलबाट पाँच विदेशी महिला पक्राउ

हिँडिरहेका विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

असार १७, २०८३

गौरव पोखरेल

Five foreign women arrested from Thamel

काठमाडौँ — काठमाडौंको ठमेल क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी अभद्र व्यवहार गरेको आरोपमा ५ विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित सडकखण्डमा हिँडिरहेका विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा चार जना युगान्डाका र एक जना इन्डोनेसियाका नागरिक छन् । उनीहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीमाथि नै अपशब्द प्रयोग गर्दै गालीगलौज, धक्कामुक्का र हातपात गरेको प्रहरी दाबी छ । थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । 

पक्राउ परेका पाँचै जनाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully