२०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले बजेट प्रस्तुत गरेकी हुन् ।
What you should know
भक्तपुर — सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब २६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
२०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु खर्चतर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ ।
आगामी आवका लागि संघीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक तथा सशर्त अनुदानमार्फत ६९ करोड ३१ हजार ३१६ रुपैयाँ र प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक, सशर्त तथा विशेष अनुदानमार्फत ५९ करोड ६० लाख ९७ हजार ७०८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । साथै, आन्तरिक स्रोतबाट ९७ करोड ३८ लाख ७० हजार ९७५ रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
बजेटले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नगर विकासलाई गति दिने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आगामी बजेटका प्रमुख उद्देश्यका रूपमा गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्दै सीपमूलक तथा प्राविधिक शिक्षाको विकास, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा भरपर्दो, सुरक्षित र प्रभावकारी सूचना प्रणालीको विकास, विस्तार र उपयोगलाई अघि सारेको छ ।
नगरले आगामी आर्थिक वर्षका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गरेको छ । जसअन्तर्गत सहरी पूर्वाधार विस्तार, गुणस्तर सुधार तथा नगर सौन्दर्य प्रवर्धन, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण र विस्तार, सामुदायिक शिक्षाको पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धि, उद्यमशीलता प्रवर्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिको व्यापक विस्तारमार्फत संस्थागत सुशासन प्रवर्धन रहेका छन् ।
त्यसैगरी, स्वास्थ्य, शिक्षा र खानेपानीलगायत सामाजिक क्षेत्र सुदृढीकरण, उद्यमशीलता र स्वरोजगार अभिवृद्धि, पर्यटन प्रवर्धन तथा स्थानीय आर्थिक सम्भावनाको उपयोग, दिगो तथा व्यवस्थित सहरी पूर्वाधार विकास र आधुनिक सूचना प्रणालीको विकासलाई नगरपालिकाले रुपान्तरणकारी क्षेत्रका रूपमा अघि सारेको छ ।
