प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइलालगायत क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँ — पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमा अवैध रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइलालगायत क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पक्राउ परेका बंगलादेशी नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरेका थिए । उनीहरूमध्ये केहीसँग स्थायी परिचय खुल्ने कागजात र पासपोर्ट नभएको र केहीले पर्यटक भिसाको म्याद सकिएपछि पनि नेपालमै बसोबास गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाएको जनाएको छ ।