स्वनिगः विश्वविद्यालय स्थापनाका लागि काठमाडौं महानगरद्वारा बजेट विनियोजन

महानगरवासीहरूले अब मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीयस्तरबाटै पाउने ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Swanig: Kathmandu Metropolitan City allocates budget for establishment of university

काठमाडौं — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बहुवर्षिय योजनाअन्तर्गत सामुहिक आवास निर्माणको लागि पहिलो वर्षको लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्ववासी समस्या समाधान गर्न विशेष कार्यक्रम सञ्चालनका लागि वित्तीय प्रबन्ध गरिएको बजेटमा उल्लेख छ । ‘महानगर अस्पताल निर्माणको बहुवर्षिय योजनाअन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डंगोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘ज्येष्ठ नागरिक निमोनिया खोपको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । क्यान्सर जस्ता असाध्य रोगहरूको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ २ करोड रकम विनियोजन गरिएको छ ।’  

निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ छुट्याइएको बजेटमा उल्लेख छ ।

महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर डंगोलले यस्तो उल्लेख गरेकी हुन् । ‘बहालमा लिएदिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ,’ डंगालले भनिन्, ‘करदातालाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । महानगरवासीहरूले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीयस्तरबाटै उपलव्ध गराउने प्रबन्ध मिलाइएको छ ।’ 

कान्तिपुर

Link copied successfully