काठमाडौं महानगरद्वारा २५ अर्ब ८८ करोड ३० लाखको बजेट प्रस्ताव

काठमाडौं महानगरपालिकाले २०८३/०८४ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासमै ६१ प्रतिशत रकम छुट्याइएको छ भने सामाजिक र आर्थिक क्षेत्रमा पनि उल्लेख्य बजेट प्रस्ताव गरिएको छ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City proposes budget of Rs 25.883 billion

काठमाडौं — काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरेकी हुन् ।

‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ,’ बिहीबार बजेट प्रस्तुत गर्दै कार्यवाहक मेयर डंगोलले भनिनन्, ‘जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’ 

उनले क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल वजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अरव ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ । 

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । 

कान्तिपुर

Link copied successfully