ललितपुरको जावलाखेलस्थित डीएभी कलेजको कक्षा १२ मा अध्ययरत १८ वर्षीय किशोर आर्यन सिंहको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
काठमाडौँ — ललितपुरको जावलाखेलस्थित डीएभी कलेजको कक्षा १२ मा अध्ययरत १८ वर्षीय किशोर आर्यन सिंहको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
कलेजको चौथो तलाबाट हामफालेका विद्यार्थी सिंहको मृत्युको कारणबारे मोबाइलको डिजिटल फरेन्सिक जाँच, सीसीटीभी, साथीहरूको बयानलगायतका विधिबाट ललितपुर प्रहरीले जाँच थालेको हो । प्रहरीका अनुसार सोमबार दिउँसको कलेजको भवनको छतबाट खसेका सिंहलाई सुमेरू सिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रका अनुसार, उनको नामको सुसाइड नोटसमेत फेला परेको छ । ‘त्यसमा उनले जिन्दगीप्रतिको नैराश्यता व्यक्त गरेका छन्, बुबा पनि केही समय पहिले बित्नुभएको रहेछ,’ उनले कान्तिपुरसँग भने, ‘थप कुराहरू भेरिफाई गर्नलाई उनको मोबाइल जाँच गरिरहेका छौं ।’
सीसीटीभी फुटेज हेर्दा घटना हुँदा घटनास्थलमा उनीबाहेक अरूको उपस्थिति नदेखिएको प्रहरीको भनाइ छ । कागजमा लेखिएको अक्षरको समेत परीक्षण गर्ने तयारी प्रहरीले थालेको छ ।
स्कुलमा परीक्षामा अनुत्तीर्ण भएका बेला उनीलाई तनाव भएको परिवारका एक सदस्यले बताएका छन् । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।
