७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका अशक्त नगरवासीलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रमा उल्लेख छ ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘मानवीयताको सहर’ का रूपमा विकास गर्ने संकल्प अघि सारेको छ ।
आइतबार २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो संकल्प सार्वजनिक गरिन् । नीति तथा कार्यक्रमले कंक्रिटको सडकभन्दा माथि उठेर सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई अभूतपूर्व प्राथमिकता दिएको छ ।
महानगरले आगामी वर्षको बजेट तथा कार्यक्रममा ‘मानवीयताको सहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देशलाई कार्यान्वयन गर्न थुप्रै प्रयोगात्मक र सिर्जनात्मक योजनाहरू समावेश गरेको छ । यस अन्तर्गत महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीहरूको हितलाई रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।
‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्धवृद्धा र अशक्त नागरिकहरूले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने उनले बताइन् । ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका अशक्त नगरवासीहरूलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइनेछ ।
काठमाडौंका सडकहरूलाई मानवीयताको प्रतिबिम्ब बनाउन योजना अघि सारिएको छ । सहयोगापेक्षी, घरबारविहीन र सडक आश्रित नागरिकहरूको उद्धार, तथा व्यवस्थापनका लागि साझेदार संस्था र गैरसरकारी निकायसँग संयुक्त समन्वय गरी काठमाडौंलाई ‘सडक आश्रित मानवमुक्त शहर’ घोषणा गरिने नीतिमा उल्लेख छ ।
कार्यवाहक प्रमुख डंगोलले महानगरको मानवीयता केवल मानिसमा मात्र संकुचित नभएको बरु यसले पशुपंक्षी र प्रकृतिको सहअस्तित्वलाई समेत हार्दिकताका साथ समेटेको बताइन् । चराचुरुंगी संकटमा पर्दै गएको सहरी पर्यावरणलाई महसुस गर्दै महानगरभित्रका सम्पूर्ण टोल, विद्यालय, समुदाय र पार्कहरूमा पंक्षीमैत्री अभ्यास सञ्चालन गरिने उनको भनाइ छ । यसका लागि चराचुरुंगीलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौंको सङ्ख्यामा ‘पानी पात्र’ स्थापना गरिने महानगरको घोषणा छ । सडकका कुकुर र बाँदरको नियन्त्रण गर्दा निर्दयी विधि प्रयोग नगरी पशु कल्याणका सिद्धान्तअनुसार मानवीय र वैज्ञानिक उपाय मात्रै अवलम्वन गरिने महानगरको स्पष्ट पारेको छ ।
पुस्तौँदेखि चलिआएको मौलिक सीप, शिल्पकला र आधुनिक प्रतिभा भएका व्यक्तिहरूको क्षमता प्रमाणीकरण गरी उनीहरूलाई आधिकारिक प्रमाणपत्र जारी गर्ने नौलो व्यवस्था मिलाइने बताएको छ । यो निर्णयले रैथाने कालीगढ र काष्ठकलाविद्हरूको सम्मान प्रवर्धन गर्ने महानगरको विश्वास छ ।
युवा तथा सुशासनको नयाँ परिभाषा कोर्नका लागि महानगरले नवयुवा पुस्ता (जेन जेड र जेन अल्फा) लाई राष्ट्र निर्माणको संवाहक मानी उनीहरूको आवश्यकता सम्बोधन गर्ने र राष्ट्रिय व्यक्तित्वहरूसँग साक्षात्कार गराउने विशेष विमर्श कार्यक्रम अघि सारेको छ ।
भित्री साँगुरो सडकमा स्वास्थ्य सेवा पुर्याउन ‘बाइक एम्बुलेन्स’, सबै निजी र सरकारी अस्पतालहरूमा १० प्रतिशत विपन्न उपचारको कडा अनुगमन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक तनाव व्यवस्थापनका लागि कल सेन्टर जस्ता योजनाहरू नीति तथा कार्यक्रममा समेटिएका छन् ।
