विदेशी पाहुनासमेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिने
काठमाडौँ — काठमाडौं महानगरपालिकाले काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । आइतबार कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेस गर्दै 'सांस्कृतिक सहरः समृद्ध महानगर'को परिकल्पनालाई मूर्त रूप दिन काठमाडौं महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्धन तथा विकास गरिने बताएकी हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘विदेशी पाहुनासमेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिनेछ । मौलिक तथा परम्परागत सीप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्त्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ।’
महानगरपालिकाले( इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रालगायतका अन्य ऐतिहासिक तथा साँस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन पनि गर्ने भएको छ । ‘पर्यटन प्रवर्धन तथा विकासका लागि प्राचीन बस्ती एवं सहरहरूमा होमस्टे सञ्चालनको लागि प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ, ‘अमूर्त सम्पदाहरू स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा संगीतहरुको संरक्षण र प्रवर्धन गर्दै युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत गर्न आवश्यक पहल गरिनेछ।’
महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधारा (हिती) हरुको पुनर्स्थापना, आकाशे पानी संकलन तथा पुनर्भरण गर्दै जल सम्पदाको संरक्षण गरी वातावरणीय सन्तुलन कायम गर्न जोड दिने पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
