सीआईबीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड, आधिकारिक दस्तखत तथा छाप कीर्ते गरी आर्थिक लाभ लिन खोज्ने गोरखा आरुघाटका विवश अधिकारीलाई सतुंगलबाट सोमबार पक्राउ गरेको जनाएको छ ।
काठमाडौँ — अदालतको लेटरप्याड र दस्तखत कीर्ते गरी ठगी गर्न खोज्ने पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतको लेटरप्याड, आधिकारिक दस्तखत तथा छाप कीर्ते गरी आर्थिक लाभ लिन खोज्ने गोरखा आरुघाटका विवश अधिकारीलाई सतुंगलबाट सोमबार पक्राउ गरेको जनाएको छ।
सीआईबीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल काठमाडौं बस्दै आएका अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते गरी प्रतिवादीको नाममा मुद्दा खोल्ने तथा पुनः प्रमाणीकरणसम्बन्धी सूचना पत्र तयार गरेका थिए । साथै, अदालतको अन्तिम निर्णय भइसकेपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रकम स्थानान्तरण हुने र अदालतबाट १ लाख ६ हजार ५०० सेवा शुल्क बुझाउन आदेश दिइएको उल्लेख गर्दै नक्कली कागजात प्रयोग गरी ठगी गर्ने प्रयास गरेको आरोप छ।
अनुसन्धानका क्रममा उनले अदालतको लेटरप्याडमा न्यायाधीश, श्रेस्तेदार र शाखा अधिकृतको दस्तखत तथा अदालतको छापसमेत कीर्ते गरी नक्कली कागजात चलनचल्तीमा ल्याएको खुलेको प्रहरीले जनाएको छ।
उनको डेरामा गरिएको खानतलासीका क्रममा कीर्ते कागजातसमेत फेला परेको बताइएको छ। उक्त घटनासम्बन्धी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अधिकारीमाथि लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
