बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्राडा सुवास आचार्यलाई उक्त उपकरण हस्तान्तरण गरेकी हुन् ।
What you should know
काठमाडौं — काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगन्जको ओपीडी सेवालाई १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण गरेको छ । बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्राडा सुवास आचार्यलाई उक्त उपकरण हस्तान्तरण गरेकी हुन् ।
प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरूमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट बिरामी आफैंले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षणलगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरू सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँमा प्राप्त भएका हुन् ।
कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालमा उपचार गराउन घण्टौंसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् ।‘बिरामी र बिरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ । उहाँहरूलाई उपचार गराउने क्रममा झन पीडा र सकस नहोस् । पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस् । यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ । यसका लागि हाममीले सहयोग गरेका हौँ,’ उनले भनिन् ।
कार्यक्रममा अस्पतालका प्रमुख प्राडा आचार्यले महानगरबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतीकरण गर्दै बिरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे ।
