आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको महानगरले जानकारी दिएको छ ।
काठमाडौं — काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई दिने छात्रवृत्ति कार्यक्रममा २६ हजार ८८८ जनाले अनलाइन आवेदन फाराम भरेका छन् ।
आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको महानगरले जानकारी दिएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।
आवेदकमध्ये विज्ञान विषयका लागि १८ हजार ९९६, व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना छन् । अनलाइन प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । हालसम्म ८४ आवेदन अस्वीकृत भएको छ । नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११–१२ मा कुनै प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।
