मध्यपुर थिमि नगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयका ईसीडीदेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई स्वस्थ, ताजा तथा पोषणयुक्त खाजाको व्यवस्था गरिने नगरप्रमुखको भनाइ छ ।
काठमाडौँ — मध्यपुर थिमी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २८०० बालबालिकालाई नि:शुल्क दिवा खाजा खुवाइरहेको छ ।
विश्व खाद्य कार्यक्रम र जीवनको लागि खानासँग सहकार्य गरी नगरपालिकाले सामुदायिक विद्यालयका ईसीडीदेखि ५ कक्षासम्मका करिब २८०० विद्यार्थीलाई नगरपालिकाको सेन्टर किचेनमार्फत दिवा खाजा वितरण कार्यक्रमको आज औपचारिक उद्घाटन गरेको हो ।
विद्यार्थीहरूलाई दैनिक फरक फरक पोषणयुक्त खाजा खाद्य निरीक्षकको निगरानीमा वितरण गरिने नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रममार्फत मध्यपुर थिमि नगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयका ईसीडीदेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई स्वस्थ, ताजा तथा पोषणयुक्त खाजाको व्यवस्था गरिने नगरप्रमुखको भनाइ छ । बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
