नागढुंगा-कलंकी मुख्य सडकमा सीसी क्यामरा जडान गरिने

शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिकाले प्रहरीसँग सहकार्य गरेको हो ।

जेष्ठ ८, २०८३

रासस

CCTV cameras to be installed on Nagdhunga-Kalanki main road

काठमाडौँ — काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सीसी क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो ।

समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे । नगरप्रमुख गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुंगा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । उनले सीसीटीभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हाल चन्द्रागिरि नगरपालिकाभित्र करिब ४ सय सीसी क्यामरा जडान गरिएका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको सङ्ख्या थप गरी एक हजार ५ सय पुर्‍याइनुका साथै नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सिसि क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको बताए ।

रासस

Link copied successfully