कीर्तिपुरमा खुकुरी प्रहारमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

कीर्तिपुरमा एक जना युवालाई खुकुरी प्रहार भएको घटनामा संलग्न सुजन शाहीलाई पक्राउ गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।

वैशाख ३१, २०८३

गौरव पोखरेल

Police open fire to arrest suspect involved in khukuri attack in Kirtipur

काठमाडौँ — काठमाडौंको चोभारमा प्रहरीले गोली चलाएर एक जना अभियुक्तलाई पक्राउ गरेको छ । 

कीर्तिपुरमा एक जना युवालाई खुकुरी प्रहार भएको घटनामा संलग्न सुजन शाहीलाई पक्राउ गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।  

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले विशेष सूचनाका आधारमा घटनामा संलग्नलाई समात्न गएको टोलीमाथि उल्टै आक्रमण भएपछि यो परिस्थिति सिर्जना भएको जिकिर गरे । 

'नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि सुरुमा दुई राउण्ड हवाई फायर भएको थियो,' उनले कान्तिपुरसँग भने, 'त्यति गर्दा पनि नरोकिएपछि एउटा गोली उनको खुट्टामा लागेको छ ।'

शाहीलाई प्रहरीले अस्पतालतर्फ लैजाँदै गरेको उनले बताए ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा २३ वैशाख दिउँसो साढे २ बजे धारिलो हतियार प्रहार गरेर विपिन घिमिरे नामक युवाको हत्या भएको थियो । 

सामान्य विवादमा साथीहरुबीच विवाद हुँदा यो घटना भएको प्रहरीको भनाइ छ । यो घटनामा संलग्न महेन्द्र शाह, रवीन्द्र धामी र रोशन विष्ट यसअघि नै पक्राउ परिसकेका थिए ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully