प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि यो जात्रा मनाउने परम्परा छ ।
भक्तपुर — भक्तपुरको चासुखेलमा आज चण्डेश्वरी जात्रा मनाइएको छ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि यो जात्रा मनाउने परम्परा छ ।
बैशाख शुक्ल पूर्णिमा र त्यसको अघिल्लो दिन गरी २ दिन जात्रा मनाइन्छ । चासुखेलस्थित चण्डेश्वरी देवीको ३ तले मन्दिर वरपर जात्राको रथ परिक्रमा गरी दरबार क्षेत्र हुँदै दत्तात्रयसम्म पुर्याउने गरिन्छ ।
जात्राको क्रममा साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गराउनुअघि रित्तो खटको जात्रा गर्ने चलन छ । त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ लावालस्करसहितको जात्रा गरिन्छ ।
सरकारी पूजा सकेपछि चण्डेश्वरी देवीलाई पुनः सोही बाटो फिर्ता भई टिबुक्छें टोल पुर्याउने प्रचलन छ । त्यसपछि चण्डेश्वरी देवीको खट सुकुलढोका, गोल्मढी, इनाचो हुँदै तचपाल टोल नपुग्दै आउने चौबाटोमा रोकिने परम्परा छ । यस क्रममा खटलाई नबोकी भुइँमा घिसार्ने परम्परा छ ।
त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखुहुँदै क्वाछें ओरालोसम्म पुर्याइन्छ । खट पुनः फर्काई चण्डेश्वरी मन्दिर परिसरको डबली पुर्याइ मूर्ति निकाली विधिवत रुपमा पूजा गरिन्छ ।
मूर्तिलाई पेटीमा विराजमान गराई पूजा गरिन्छ । यही साँझ चण्डेश्वरी देवीको फूलप्रसाद पुर्याएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुने परम्परा छ ।
