वर्षौंदेखि बाँकी रहेको एक लाख ७५ हजार ५ सय लाइसेन्स एकै पटक कार्यालय आइपुगेपछि वितरणको काममा कर्मचारीहरुलाई भ्याइनभ्याइ भएको छ ।
भक्तपुर — यातायात व्यवस्था कार्यालय भक्तपुरबाट दैनिक १२ सय सवारी चालक अनुमतिपत्र वितरण भइरहेको छ ।
यातायात कार्यालय भक्तपुरका कर्मचारी जनकराज काफ्लेका अनुसार बिहान ९ देखि साँझ ५ बजेसम्म लाइसेन्स वितरण कार्य भइरहेको छ । छपाई भएर आएका लाइसेन्स वितरण गर्न ६ महिना लाग्ने उनले बताए ।
पछिल्लो समय ४८ हजार सवारी चालक अनुमतिपत्र छापिएर आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दैनिक ३ सय जना सवारी चालक अनुमति पत्रका लागि परीक्षा दिनेहरु उत्तीर्ण भइरहेकाले यो पनि थपिने गरेको छ ।
सवारी चालक अनुमति पत्र लिन सेवाग्राही बिहान ६ बजेदेखि नै लाइन लाग्दा यातायात व्यवस्था कार्यालय भक्तपुरमा भिडभाड हुने गर्छ । वर्षौंदेखि बाँकी रहेको एक लाख ७५ हजार ५ सय लाइसेन्स एकै पटक कार्यालय आइपुगेपछि वितरणको काममा कर्मचारीहरुलाई भ्याइनभ्याइ भएको छ ।
कार्यालयका निमित्त प्रमुख पवन कट्टेलले सीमित जनशक्तिका कारण पर्याप्त लाइसेन्स वितरण गर्न नसकेको भन्दै लाइसेन्स वितरणमा आफै खटिनुपरेको सुनाए ।
कार्यालयले सवारी चालक अनुमति पत्रको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र नवीकरण लगायतको नियमित काम यथावत राखी लाइसेन्स वितरणको भार व्यहोर्नु परेको उनले बताए । अन्य कामका लागि खटाउनु पर्ने कर्मचारी कटौती गरेर दैनिक १० जनालाई लाइसेन्स वितरणमा लगाइएको निमित्त प्रमुख कट्टेलले बताए ।
