यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।
What you should know
काठमाडौं — धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।
काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा गत मंगलबार महानगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले काठमाडौंभित्रका सबै सार्वजनिक यातायातका साधनलाई गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले ३ दिनभित्र सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेसँगै आज बिहानैदेखि धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् ।
काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले २०५६ सालमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । अधिकांश जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कभित्रबाटै चल्ने भए पनि नुवाकोट, रसुवा र धादिङ जिल्लामा चल्ने सवारीसाधन भने माछापोखरी क्षेत्रमा काउण्टर र पार्किङ बनाएर सञ्चालन गरिँदै आएका थिए ।
काठमाडौं महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भए पनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारी साधन भने नयाँ बसपार्कनजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका थिए । यसअघि गोँगबु चोकदेखि नयाँ बसपार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वीराजमार्गमा चल्ने बस तथा माइक्रोबस पनि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।
धादिङ, रसुवा र नुवाकोट चल्ने सवारीसाधनका चालकले नयाँ बसपार्कभित्रबाट चलाउन अटेर गर्दै आएका थिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जथाभावी रुपमा सडकमा पार्किङ गरेर यातायातका साधन सञ्चालन गरिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए ।
लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज भएको प्रवक्ता सुवेदीको भनाइ छ । महानगरको उक्त निर्णय कार्यान्वयन गरेसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम कम हुने उनले बताए ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नुवाकोट, रसुवा र धादिङमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बसपार्कबाट छुट्टै ‘ट्रयाक’को व्यवस्था गरिएकोे बताए । यस्तै, उक्त दूरीमा जाने सवारी साधनका लागि छुट्टै टिकट काउण्टरको समेत व्यवस्था मिलाएको उनले बताए ।
यातायात कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा करिब २० लाख हाराहारीमा सवारी साधन सञ्चालनमा छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको संख्या वृद्धि हुँदा र बाटो विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।
