प्रवक्ता मानन्धरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा शनिबारसम्म बस्ती खाली गर्न समय दिइएको बताए ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाले शनिबारसम्ममा सुकुम्बासी बस्ती खाली गर्न उर्दी दिएको छ । महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका थापाथलीलगायतका बासिन्दालाई स्वेच्छिक रूपमा बस्ती छाड्न माइकिङ भइरहेको हो ।
प्रवक्ता मानन्धरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा शनिबारसम्म बस्ती खाली गर्न समय दिइएको बताए । 'अहिले माइकिङमार्फत अन्तिम सूचना दिएका हौं,' उनले भने, 'तोकिएको समयभित्र नहटे बल प्रयोग गरेर हटाउनुपर्ने अवस्था आउन सक्छ।'
उनले इच्छुक परिवारलाई वैकल्पिक स्थानमा सर्न महानगरले यातायात सहयोगसमेत गर्ने बताए ।
गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री मातहतमा रहेको छ । त्यसपछि सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री वालेन्द्र शाहले सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा निर्देशन दिएका थिए ।
महानगरले भने यसलाई सहर व्यवस्थापनको निरन्तर अभियानका रूपमा लिएको जनाएको छ । 'व्यवस्थित काठमाडौं बनाउने विषयमा सबै पक्ष सहमत छन्,' प्रवक्ता मानन्धरले भने, 'यसपटक काम अघि बढिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ । हामीले पहिले पनि पर्याप्त समय दिएका थियौं । यो समयमा नहटे बल प्रयोग हुन्छ ।'
