काठमाडौं महानगरले गत महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा नयाँ बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरेको थियो ।
काठमाडौं — काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिमपटक तीन दिनको अवधि दिएको छ ।
महानगरले गत महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा नयाँ बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरेको थियो । उक्त सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई अब ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिएको महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न पनि उनले निर्देशन दिएकी छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट दैनिक औसतमा ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । बसपार्कबाट औसतमा दैनिक ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, बुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।
