सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

वैशाख ३ गते अदालतको अनुगमन महाशाखाबाट आकस्मिक रूपमा हाजिर एवं ‘ड्रेसकोड’ अनुगमन गर्दा नियम पालना नगरेको पाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

वैशाख ५, २०८३

रासस

Supreme Court employees did not follow the rules

काठमाडौँ — कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले नै नियम पालना नगरेको पाइएको छ । यही वैशाख ३ गते अदालतको अनुगमन महाशाखाबाट आकस्मिक रूपमा हाजिर एवं ‘ड्रेसकोड’ अनुगमन गर्दा नियम पालना नगरेको पाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा निर्दिष्ट समयभित्रै कर्मचारीका लागि तोकिएको पोसाकमा मात्र अदालत प्रवेश गर्न र तोकिएको शाखामा प्रमुख/महाशाखा प्रमुखको निर्देशनमा रही सेवाग्राहीबाट गुनासो नआउने गरी कार्यसम्पादन गर्न तथा गराउन भनिएको छ । 

त्यस दिन बिहान गरिएको छड्के अनुगमनमा बिहान ९ बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको संख्या ८२ जना रहेको तथा तोकिएको पोसाक नलगाउने २२ जना (जिन्स, टिसर्टसमेत लगाएका) पाइएको छ । बिदा स्वीकृत/पूर्वजानकारी नगराइ अनुपस्थित रहेको संख्या ७० जना रहेका छन् । यस्तै, वैशाख २ गतेको कुर्सी छड्के गर्दा नौ जना (बिहान–बेलुका हाजिर मात्र गरेको) आफ्नो कार्यकक्षमा नभेटिएका पाइएको पनि अदालत प्रशासनले जानकारी दिएको छ । 

अनुगमनका क्रममा पाइएको कैफियतको अभिलेख रहने र अब उप्रान्त बिहान ९:१५ पश्चात् एवं बेलुका ५ बजे अघि हाजिरी मेसिनले हाजिर नलिने बेहोरासमेत जानकारी गराउँदै अदालतले अनुगमन महाशाखाबाट यो कार्य निरन्तर रूपमा जारी रहने उल्लेख गरेको छ ।

रासस

Link copied successfully