बागमती स्विट्सको उत्पादनस्थल सिल

उद्योगमा किरा परेको बदाम भेटिनुका साथै सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी देखिएको थियो ।

वैशाख ४, २०८३

विवेक पोख्रेल

Bagmati Sweets production site sealed

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आदेश उल्लंघन गरेपछि काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरमा रहेको बागमती स्विट्स प्रालिको उत्पादनस्थल सिल गरिएको छ ।

अनुगमनका क्रममा सोमबार उक्त उद्योगमा किरा परेको बदाम भेटिनुका साथै सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी देखिएको थियो । त्यसपछि विभागले अर्को आदेश नभएसम्मका लागि उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिँदै कमजोरी सुधार गरी प्रमाणसहित तीन दिनभित्र उपस्थित हुन उद्योगलाई आदेश दिएको थियो।

तर, सो आदेशको उल्लंघन गर्दै उद्योगले विभिन्न संघ–संस्थामा फेरि उत्पादन बिक्री वितरण गरेको उजुरी प्राप्त भएपछि बिहीबार पुनः अनुगमन गरिएको विभागकी प्रवक्ता बालकुमारी शर्माले जानकारी दिइन् ।

उनका अनुसार अनुगमनका क्रममा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयमा १४ प्याकेट, चाल्नाखेल अस्पतालमा २५ प्याकेट तथा डेलिभरीका लागि लोड गर्न लागिएको अवस्थामा ७ प्याकेट गरी कुल ५१ प्याकेट खाजा फेला परेको थियो ।

'आदेश उल्लंघन गर्दै कानुनविपरीत खाद्य पदार्थ बिक्री वितरण गरेको पाइयो,' शर्माले भनिन्, 'खाद्य उत्पादन स्थल तथा कारखानालाई अर्को आदेश नभएसम्मका लागि सिलबन्दी गरिएको छ ।'

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully