रासस अध्यक्षमा रानामगर नियुक्त

समितिको रिक्त अध्यक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही वैशाख २ गतेको निर्णयअनुसार सहसचिव रानामगरलाई अर्को व्यवस्था नभएसम्मका लागि बोर्डको अध्यक्ष तोकिएको हो ।

वैशाख ३, २०८३

रासस

Rana Magar appointed RSS chairman

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति अध्यक्षमा उदयबहादुर रानामगर नियुक्त भएका छन् । 

समितिको रिक्त अध्यक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही वैशाख २ गतेको निर्णयअनुसार सहसचिव रानामगरलाई अर्को व्यवस्था नभएसम्मका लागि बोर्डको अध्यक्ष तोकिएको हो । अध्यक्ष रानामगरले बिहीबार रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित कार्यालयमा पद बहाली गरे । उनलाई राससका महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखलगायतले स्वागत गरे ।

अध्यक्ष रानामगरले नयाँ सरकारको ‘स्पिरिट’अनुसार जनताले परिवर्तन अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिए । उनले सबै पदाधिकारी र हरेक कर्मचारीको कार्य विवरण तयार गरी मूल्यांकन प्रणाली बसाल्न आग्रह गरे । अध्यक्ष रानामगरले रासस आफ्नो खुट्टामा आफैँ उभिन सक्ने स्थिति ल्याउन आग्रह गर्दै मन्त्रालयमा आफूहरुले हरेक दिन दुई नयाँ प्रगति विवरण दिन थालिएको स्मरण गराए ।

अध्यक्ष रानामगरले मुलुक बिगार्ने कर्मचारी पनि हुन् भन्ने गलत भाष्य सृजना भइरहेकाले त्यसलाई चिर्न हरेक कर्मचारीले आफूलाई बदल्नुपर्नेमा जोड दिए । परिणामूलक काम गरेपछि मात्रै सेवा सुविधाका बारेमा कुरा उठाउन उनको आग्रह थियो ।

अध्यक्ष रानामगरले आफू पूर्णकालीन अध्यक्ष नभएकाले नियमित काम गर्ने समूहले नै रासस चलाउने भएकाले संस्थालाई सामूहिक निर्णय प्रणालीमा लान र देखिएका नीतिगत समस्या फुकाउन सहयोग गर्ने बताए ।

महाप्रबन्धक राईले तालुक मन्त्रालयका सहसचिवलाई समितिको अध्यक्षका रुपमा पाउँदा आफूहरुले थप सहजता महसुस गरेको बताए । उनले नयाँ अध्यक्षको आगमनसँगै नीतिगत र व्यवस्थापकीय सवालमा गरिनुपर्ने निर्णयमा तदारुकता देखाइने बताए ।

अध्यक्ष रानामगरलाई राससका प्रबन्ध सम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले समाचार उत्पादन, गुणस्तर वृद्धि, सेवाग्राही र व्यवस्थापकीय सवालमा जानकारी गराएका थिए ।

कार्यक्रममा राससका सञ्चालक समिति सदस्यद्वय रवीन्द्रप्रसाद पौडेल र कृष्ण अधिकारी सहभागी थिए । 

२०३१ मा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मा जन्मिएका रानामगर ०५६ देखि निजामती सेवामा प्रवेश गरेका हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले जापानबाट स्नातकोत्तर गरेका छन् । 

सरकारी सेवाका क्रममा गृह प्रशासनका साथै हङकङको महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसकेका रानामगरका अनुसन्धानमूलक पुस्तकसमेत प्रकाशित छन् ।

राससका अध्यक्ष धर्मेन्द्र झाले गत चैत १६ गते दिएको राजीनामा चैत २२ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

रासस

Link copied successfully