राष्ट्रव्यापी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशबाट एक–एक जना विजेतालाई जनही नगद ७५ हजार रूपैयाँ प्रदान गरिनेछ ।
What you should know
काठमाडौँ — आध्यात्मिक तथा प्राकृतिक सम्पदालाई उजागर गर्ने रणनीति अनुरूप र प्रथम अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले आधिकारिक रूपमा वेलनेस टुरिज्म रिल भिडियो प्रतियोगिता सुरु गरेको छ ।
'वेलने इन एभ्री फ्रेम, नेपाल इन एभ्री स्टोरी' भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानले विश्वभरका पर्यटक, स्थानीय सिर्जनाकर्ताहरूलाई नेपालको वेलनेस क्षेत्रको रूपान्तरणकारी शक्तिलाई अभिलेखन गर्न निमन्त्रणा गर्ने बोर्डले जनाएको छ । 'लाइफटाइम एक्सपेरियन्सेस' मा केन्द्रित रहँदै यो पहलले नेपाललाई आयुर्वेद, योग र ध्यानका माध्यमबाट पुनरताजगी खोज्नेहरूका लागि एक प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको बोर्डले जनाएको छ ।
यस प्रतियोगिताले सहभागीहरूलाई हिमालयको शान्ति र देशका विविध वेलनेस पद्धतिहरूलाई २० सेकेन्डको प्रभावकारी रिलमा कैद गर्न आह्वान गरेको छ । सिर्जनाकर्ताहरूलाई आयुर्वेद, स्पा तथा मसाज, आध्यात्मिक उपचार र परम्परागत ध्यान अभ्यासहरू जस्ता क्षेत्रहरू समेटेर तयार पारिएका भिडियोहरू आधिकारिक पोर्टल फोटोनेपाल.ओआरजीमार्फत बुझाउन प्रोत्साहित गरिएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले भने, 'यो प्रतियोगिताले विश्वलाई हाम्रो राष्ट्रको आत्मासँग जोड्ने डिजिटल पुलको रूपमा काम गर्नेछ । सिर्जनाकर्ताहरूलाई उनीहरूको शान्ति र पुनरताजगीको व्यक्तिगत यात्रा राख्न प्रोत्साहित गरेर हामी नेपाल केवल साहसिक पर्यटनका लागि मात्र नभई वेलनेसको विश्वव्यापी केन्द्र पनि हो भन्ने देखाउँदैछौँ । हामी सातै प्रदेशका विविध कथाहरू हेर्न उत्सुक छौँ, जसले नयाँ पुस्ताका सचेत यात्रुहरूलाई नेपालमा आफ्नै जीवनभरका अनुभवहरू खोजी गर्न पक्कै पनि प्रेरित गर्नेछ ।'
यस प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिको लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ, जस अन्तर्गत राष्ट्रव्यापी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशबाट एक–एक जना विजेतालाई जनही नगद ७५,००० रूपैयाँ प्रदान गरिनेछ । सहभागीहरूले २०८३ वैशाख २ सम्म आफ्ना भिडियोहरू बुझाइसक्नुपर्नेछ ।
