कार्यालयको काम सकेर आइतबार साँझ तारकेश्वरको फुटुङतर्फ कोठामा जाँदै गर्दा प्रहरी निरीक्षक अभय लामालाई ट्रकले ठक्कर दिएको हो
काठमाडौँ — घर फर्कने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको छ ।
कार्यालयको काम सकेर आइतबार साँझ तारकेश्वरको फुटुङतर्फ कोठामा जाँदै गर्दा उनी सवार बा.प्रा. ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.प्रा.०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
उपचारका क्रममा मंगलबार दिउँसो लामाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । बी एन्ड बी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा लामाको टाउको, हातखुटा, अनुहार, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट थियो ।
लामा २०७२ सालमा प्रहरी जवानमा भर्ना भएका थिए । खुला प्रतिस्पर्धामार्फत प्रहरी सहायक निरीक्षक (असई) र पछि पुनः खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा नाम निकालेका थिए ।
हाल उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, मानव स्रोत व्यवस्थापन शाखा, रामशाहपथमा कार्यरत थिए । ठक्कर दिने ट्रक र चालक मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने ३८ वर्षीय आइतराम मोक्तान प्रहरी नियन्त्रणमा छन् ।
