दर्शन तथा तलाउमा स्नान गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन सपनतीर्थ मन्दिर आइपुगेका छन् ।
काठमाडौं — धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ ।
नयाँ वर्षको पहिलो दिनमा लाग्ने उक्त मेलामा मंगलबार बिहानैदेखि सपनतीर्थ मन्दिरको दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो । सपनतीर्थ मन्दिरमा दर्शन गरेर त्यहाँको तलाउमा स्नान गरे कुष्ठरोग निको हुने जनविश्वास रहेको छ ।
दर्शन तथा तलाउमा स्नान गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन सपनतीर्थ मन्दिर आइपुगेका छन् ।
सपनतीर्थमा मेलासँगै टोखामा ऐतिहासिक विस्का नखः(जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । सपनतीर्थ मेला आज एकदिन लाग्ने भए पनि टोखाको जात्रा भने ४ बैशाखसम्म चल्नेछ ।
टोखाले जात्राका अवसरमा भोलि २ बैशाख बुधबार टोखाभर र ३ र ४ बैशाखमा टोखा नगरपालिका वडा नम्बर २ र ३ मा बिदा दिएको छ ।
