सोमबार साँझ साढे ८ बजे भक्तपुरको भेलुखेलस्थित ल्यसिङखेलमा उठाइएको यसींद्यो(लिंगो) मंगलबार तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ६ बजे ढालिएको हो ।
भक्तपुर — बिस्का जात्राको पाँचौं दिन लिंगो ढालिएको छ ।
सोमबार साँझ साढे ८ बजे भेलुखेलस्थित ल्यसिङखेलमा उठाइएको यसींद्यो(लिंगो) मंगलबार तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ६ बजे ढालिएको हो ।
यसींद्यो ठड्याउनुअघि लिंगोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त यसींद्यो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिंगो ढालिएको हो ।
यसींद्यो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
यसींद्यो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ ।
त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । राति दुमाजु देवीको जात्रा समेत हुन्छ । लिंगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।
पुरानो वर्षको बिदाईमा लिंगो उभ्याउने र नयाँ वर्षको पूर्व सन्ध्यामा लिंगो ढाल्ने प्रचलन रहेको छ । भोलि जात्राको छैठौं दिन मध्यपुर थिमीमा बिहान सिन्दुर जात्रा र दिउासो जिभ्रो छेड्ने जात्रा हुन्छ ।
