हराएका सवारी साधन भेटेपछि ट्राफिक प्रहरीलाई खादा र लड्डु 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाका अनुसार विभिन्न समयमा चोरी भएका ५० वटा सवारी साधन फेला पारेर सोमबार हस्तान्तरण गरिएको हो ।

चैत्र ३०, २०८२

विवेक पोख्रेल

Traffic police offered food and laddus after missing vehicle found

What you should know

काठमाडौं — हुम्लाका छक्कबहादुर धामी कपनमा सानो होटल सञ्चालन गर्छन् । १४ महिनाअघि किनेको मोटरसाइकल नै उनको व्यवसायको मुख्य आधार थियो । तर, एक महिनाअघि बौद्ध क्षेत्रबाट उनको मोटरसाइकल हरायो । मोरसाइकल हराएपछि उनको अनुहारमा खुसी पनि हराएको थियो । तर, आज ट्राफिक प्रहरीले उनको मोटरसाइकल मात्रै फिर्ता ल्याइदिएको छैन नयाँ वर्षको पूर्वसन्ध्यामा सिंगो परिवारमा खुसी फिर्ता गरेको छ ।

हराएको एक महिनामै सवारी फेला परेर फिर्ता पाएपछि उनले भने, ‘यस्तो खबर आउँछ भन्ने सोचेको थिइनँ, नयाँ वर्षको उपहार पाएजस्तैं भयो,’ उनले भने ।

प्रमाणन्दकुमार रामदासको अनुभव पनि उस्तै छ । डकर्मी काम गरेर एक–एक रुपैयाँ जोड्दै ३ वर्षअघि किनेको मोटरसाइकल दुई वर्षमै हराएको थियो । हराएको एक वर्षपछि सवारी साधन फेला परेर फिर्ता पाउँदा उनले ट्राफिक प्रहरीलाई लड्डु नै खुवाएर खुसी साटे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाले सोमबार विभिन्न स्थानबाट फेला पारेका ५० वटा मोटरसाइकल तथा स्कुटरधनीलाई हस्तान्तरण गर्दाको दृश्य हो यो । सवारी साधन लिन आएका धनीहरूले आफूले ट्राफिकबाट ‘नयाँ वर्षको उपहार’ पाएको अनुभुति गरेको बताउँदै कतिपयले प्रहरीलाई लड्डु समेत खुवाए । कसैले खादा लगाइदिँदै धन्यवाद व्यक्त गरे ।

कार्यालयका अनुसार विभिन्न समयमा चोरी भएका ५० वटा सवारी साधन फेला पारेर हस्तान्तरण गरिएको हो । उक्त अवसरमा कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले सवारीधनीलाई जीपीएस जडान, ह्यान्डल लक प्रयोगजस्ता सुरक्षा उपाय अपनाउन आग्रह गरे ।

उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटनालाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोलीसमेत गठन गरेको छ । सूचना अधिकारी एसपी नरेश सुवेदीको नेतृत्वमा ४ सदस्यीय टोलीले खोजी कार्यलाई तीव्र बनाएको छ ।

कार्यालयका अनुसार साउनदेखि चैतसम्म सवारी साधन हराएको भन्दै १ हजार ८६२ निवेदन परेका थिए । यस अवधिमा ४५७ सवारीसाधन फेला परेकामा ३९४ वटा सम्बन्धित धनीलाई बुझाइसकिएको छ । बाँकी सवारी साधन तथा संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म ५ हजार ६३५ निवेदन परेकोमा १ हजार १०१ सवारी साधन मात्र फेला परेका छन् । तथ्यांकअनुसार हराएका सवारी साधनमध्ये करिब २० प्रतिशत मात्र फेला पर्ने गरेको देखिन्छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully