ड्युटि सकेर आइतबार साँझ फुटुङ्गातर्फ कोठामा जाँदै गर्दा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका छन् ।
कार्यालयको काम सकेर आइतबार साँझ फुटुङ्गातर्फ कोठामा जाँदै गर्दा उनी सवार बा.प्रा. ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.प्रा. ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनापछि उनलाई तत्काल महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याइएको र थप उपचारका लागि त्यसपछि बी एण्ड बी अस्पताल पठाएको सुवेदीले जानकारी दिए ।
प्रहरीले ट्रक र चालक मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने ३८ वर्षीय आइतराम मोक्तानलाई नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा घाइते लामोको टाउको, हातखुटा, अनुहार, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
लामा २०७२ सालमा प्रहरी जवानमा भर्ना भएका थिए । खुला प्रतिस्पर्धामार्फत प्रहरी सहायक निरीक्षक (असई) र पछि पुनः खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा नाम निकाल्दै सेवा गर्दै आएका छन् ।
हाल उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, मानव स्रोत व्यवस्थापन शाखा, रामशाहपथमा कार्यरत छन् ।
