मध्यपुर थिमि नगरपालिकाको आयोजनामा खुल्ला धिमे बाजा प्रतियोगिता सम्पन्न

प्रतियोगितामा चन्द्रागिरीको श्री नास भैरव धिमे खलः प्रथम भयो ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

Open Dhime Baja competition organized by Madhyapur Thimi Municipality concluded

What you should know

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा श्री राज गणेश धिमे खलःको सहकार्यमा शनिबार खुल्ला धिमे बाजा प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुरलगायत विभिन्न स्थानका गरी कुल ३७ वटा धिमे खलःहरूको उत्साहजनक सहभागिता रहेको थियो । परम्परागत नेवारी सांस्कृतिक बाजा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी समूहहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको नतिजा अनुसार प्रथम स्थान श्री नास भैरव धिमे खलः, चन्द्रागिरी, काठमाडौंले हासिल गर्न सफल भयो । त्यसैगरी, दोस्रो स्थान ताथली धिमे खलःले प्राप्त गर्दा तेस्रो स्थान सनस्टार धिमे खलः, कीर्तिपुरले हात पार्‍यो । नयाँ बजार धिमे खलः, कीर्तिपुरले सान्त्वना स्थान प्राप्त गरेको छ। प्रथम स्थान हासिल गर्नेलाई ५४ हजार ४ सय ४४ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र द्वितीय हुनेलाई २५ हजार ४ सय ४४ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र, तृतीय पुरस्कार १५ हजार ४ सय ४४ नगदसहित मेडल तथा प्रमाणपत्र, सान्त्वना पुरस्कार १०,४४४ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । निर्णायक मण्डलको छनोटमा ५ हजार ४ सय ४४ नगदसहित शिल्ड तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो । 

निर्णायक मण्डलको छनोटमा चाहना सांस्कृतिक समूह, भक्तपुर र श्री राज गणेश धिमे खलःको छनोटमा साना भाइबहिनीको कोशी इनाए धिमे खल, पोबु, मध्यपुर थिमिलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रमले धिमे बाजा संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully